काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच आरोप–प्रत्यारोप चलिरहेको छ । खासगरि न्यूरोडको सडक बनाउने विषयमा फरक मतका कारण उनीहरुबीच वाकयुद्ध भएको हो ।
केपी ओलीले मौखिक र बालेन साहले सामाजिक सञ्जालमार्फत एकअर्कामा प्रतिकार गरिहेको देखिन्छ । उनीहरुको वाक युद्धले न्यूरोडमा सोमबार केहिबेर तनावको स्थिती समेत सिर्जना भयो । यी दुई पात्र सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छन् । सामाजिक सञ्जाल (फेसबुक) मा बालेन साहले सोमबार मात्र २० लाख फलोअर्स पुर्याएका छन् भने केपी ओलीका सोमबारसम्म ५ लाख ६३ हजार फलोअर्स थिए । तर मंगलबार बिहानसम्म ५ लाख ७३ हजार पुगेका छन् ।
रातारात कसरी बढे केपी शर्मा ओलीका १० हजार फलोअर्स
एमाले अध्यक्ष ओली सामाजिक सञ्जालमा एकदमै सक्रिय छन् । उनले सामाजिक सञ्जाललाई चुनावताका भरपूर सदुपयोग गरे र अहिलेपनि दैनिक जसो कुनै न कुनै पोष्ट गरिरहेका हुन्छन् । पोष्ट गर्ने क्रममा सोमबार साँझ उनले उनकी श्रीमति र आफ्नो तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेर शुभरात्री लेखे ।
उनले स्टाटस लेखेका छन् ‘फेसबुक नहेरेको पनि झण्डै एक साता पुग्न लागेछ। राधिका र म गोसाइँकुण्ड जाँदाको फोटो मोबाइलको फोटो ग्यालरीमा भेटियो। यो गर्मीमा गोसाइँकुण्ड सम्झँदा पनि शीतल महसुस हुन्छ । शुभ रात्री’
यहि पोष्टको तलपट्टि कमेन्ट बक्समा काठमाडौं महानगरका मेयर साहले कमेन्ट गरे । साहले ‘ओ हो गूड नाईट केपी बा, ह्याब अ सूईट ड्रिम’ लेखे ।
त्यस लगत्तै साहको कमेन्ट हेर्नकै लागि धेरैले ओलीको प्रोफाइल सर्च गरेको देखिन्छ । उनको यो पोष्टमा ५१ हजार रियाक्ट र साढे १५ हजार कमेन्ट आएका छन् । यति धेरैले उनको पोष्ट पहिलो पटक हेरेका हुन् । बालेन साहकै कमेन्ट पढ्न आउने नयाँ १० हजार जनाले ओलीलाई फ्लो गरेका छन् । उनको रातारात ५ लाख ६३ हजार फ्लोअर्सबाट ५ लाख ७३ हजार पुगेको हो ।