• २०८३ साउन १
  • 2026 July 17, Friday

बजेट जसले ल्याएपनि केही नहुने सांसद गिरीको गुनासो

काठमाडौं । नेपाली काङ्ग्रेसका सांसद दिपक गिरीले बजेट जति नै आए पनि देशमा केही नहुने टिप्पणी गरेका छन् ।

आज प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा उनले हरेक वर्ष बजेटमा ठूला ठूला कुरा लेखिएपनि त्यसको कार्यान्वयन नहुने भन्दै बजेटहरु आउँछन् जान्छन् तर देशमा केही नहुने बताए ।

उनले भने, ‘बजेटहरु प्रस्तुत हुन्छन्, बजेटहरु आउँछन् जान्छन्, मुलुकमा केही हुँदैन  । चाहे त्यो विष्णु पौडेल, जनार्दन शर्मा, प्रकाश शरण महत ल्याएको बजेट अथवा अहिले आएको बजेटको कुरा गरौं केही हुनेवाला छैन । हरेक वर्ष बजेटमा ठूला कुरा आउने गरेको छ । कृषि मलको कारखाना, निमार्णका योजना धेरैपटक आए केही भयो कहाँ गयो त्यो सरकारको बचन ।’

यस्तै, उनले बजेटमा आवश्यक बजेट व्यवस्था, आवश्यक बजेट विनियम र आवश्यक रकम व्यवस्था गर्ने भन्ने तीन वटा शब्दहरु जस्तो तरिकाले प्रस्तुत गरिएको हुन्छ त्यो व्यवहारमा कहिले पनि लागू नहुने बताए ।उनले भने, ‘बजेटमा एउटा कुरा नराम्रो तरिकाले उल्लेख हुन्छ त्यो शब्द आवश्यक बजेट व्यवस्था गरिने छ, बजेटमा बडो शब्द आउँछ ।

आवश्यक बजेट विनियम गर्छु, आवश्यक रकम व्यवस्था गर्छु यी तीन वटा शब्दहरु छ । बजेटमा सातै प्रदेशमा सुविधासम्पन्न वृद्धा आश्रमको स्थापना गरिने छ । भनेरे बडो गहकिलो शब्द उल्लेख गरिएको छ । हेर्छु मैले एक वर्षपछि यो बन्छ कि बन्दैँन् ।’