पोर्चुगल विश्वकपका लागि छनोट, कतार विश्वकपमा २७ टिमकाे टिकट पक्का

काठमाडाैं । पोर्चुगल विश्वकपका लागि छनोट भएको छ । युरोपेली छनोटको प्लेअफ फाइनलमा नर्थ म्यासेडोनियालाई २–० गोलले पराजित गरी पोर्चुगल फिफा विश्वकपमा छनोट भएको हो ।

पोर्चुगलको जितमा दुवै गोल ब्रुनो फर्नान्डेसले गरे । फर्नान्डेसले खेलको ३२ औँ र ६५ औं मिनेटमा गोल गरेका हुन् ।

प्लेअफकै अर्को खेलमा पोल्यान्डले स्विडेनमाथि २–० गोलकाे जित निकालेर विश्वकपमा स्थान बनाएको छ ।

२०२२ फिफा विश्वकप आगामी नोभेम्बर २१ देखि कतारमा हुनेछ । १८ डिसेम्बरसम्म चल्ने प्रतियोगितामा ३२ टिमकाे सहभागिता रहनेछ ।

कतारका विभिन्न ५ शहरका ८ रंगशालामा हुने प्रतियोगिताका लागि अहलेसम्म २७ टिमले टिकट पक्का गरिसकेका छन् । जसमा आयोजक कतार आयोजकको हैसियतमा छनोट भएको हाे ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१