• २०८३ असार १५
  • 2026 June 29, Monday

एसईईको नजिता सार्वजनिकको दिन सांसद चौधरीको एसएलसी सम्झना

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा व्यवसायी विनोद चौधरीले राष्ट्रिय परिक्षा बोर्डले माध्यमिक शिक्षा परिक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको दिन आफ्नो एसएलसीको दिनलाई स्मरण गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेर एसईईका परिक्षार्थीहरुलाई प्रोत्साहित गर्दै आफ्नो विद्यार्थी जीवनको अनुभव सेयर गरेर फरक ढङ्गले विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिएका छन्।

सांसद चौधरीले भक्तपुरको आदर्श बहुउद्देश्य स्कुलमा कक्षा १० सम्म अध्ययन गरे। राष्ट्रिय परिक्षा बोर्डले लिएको २०२८ सालको एसएलसी जाँचमा बोर्ड पाँचौ भएका थिए ।

उनले यस्तो स्टाटस लेखेका छन् ।

मैले कक्षा ६ देखि भक्तपुरको आदर्श बहुउद्देश्य स्कुलमा पढेँ ।

त्यो स्कुलमा व्यावसायिकतर्फ चारवटा विषय थिए । सबै विद्यार्थीले आफ्नो रुचिअनुसार एउटा विषय छान्नुपर्थ्यो । इन्डस्ट्रियल साइन्समा काठ काटेर विभिन्न सामान बनाउने सीप सिकाइन्थ्यो । अर्को थियो, होम साइन्स । खानेकुरा पकाउन, लुगा सिलाउन, बगैचा स्याहार्न सिकाउने यो विषय धेरैजसो केटीहरूले लिन्थे । कृषिु मा खेतीपातीसम्बन्धी पढाइ हुन्थ्यो । चौथो विषय थियो, सेक्रेटेरियल साइन्स, यसमा टाइपराइटर चलाउन र व्यापारका सानातिना प्रयोगात्मक अभ्यास गर्न लगाइन्थ्यो। मैले यही विषय लिए ।

हामीलाई सेक्रेटेरियल साइन्स पढाउने मिस हुनुहुन्थ्यो, जाल्पा प्रधान। एकदिन उहाँले कक्षामा आएर भन्नुभयो, म एउटा समूह बनाइदिन्छु । अलिकति पैसा जम्मा गर, स्कुलमा सानो पसल थाप ।

हामी वाल्ल पर्यौं ।

दुईचार कुरा सिक्न पाउँछौ, एकदुई पैसा बचत हुन्छ,उहांले सोध्नुभयो । समूहको नेतृत्व कल्ले गर्छ ? कक्षा अचानक जांच दिनुपरेजस्तो सामसुम भयो। मैले फ्याट्ट हात उठाएँ ।

हामीले पसल थाप्न भनेर घरबाट पैसा माग्न पाउँदैनथ्यौ । टिफिन बाट दिएको पैसा जम्मा गरौं भने त्यो पनि थिएन। स्कुलमै खुवाउँथ्यो। समस्या पर्यो । मैले उपाय सोचें, अबदेखि चना चट्पट, बम्बईया लड्डु सबै बन्द । घरबाट पैसा लिने, खर्च भने नगर्ने । केही नभए पनि दिनको एक मोहर, एक रुपैयाँ बच्थ्यो ।

साथीहरूले मेरो प्रस्ताव माने। पैसा बचाऊ अभियान सुरु भयो। म दिनहुँ साथीहरुसंग पैसा उठाउने, घर लगेर खुत्रुकेमा खसाल्ने । पहेंलो रङको माटोको खुत्रुकेमा मैले रातो साइनपेनले किरिडमिरिङ अक्षरमा लेखेको थिएं । स्कूल प्रोजेक्ट कस्ले कति पैसा दियो भन्ने हिसाब राख्न सबै मिलेर एउटा कापी किनेका थियौ। हिसाब लेख्ने काम सबैका आँखा सामुन्ने हुन्थ्यो । महिना दिनपछि हामीले खुत्रुके फोड्यौ । डेढ सय रुपैयां चानचुन जम्मा भएछ ।

मिसले भन्नुभएको थियो, स्कूलमा के चिज बढी विक्छ, त्यही राख्नु । हामीले पिपलमेड पाउँ, रंगीविरंगी इरेजर, थरीथरीका सार्पनर र यस्तै केही खित्रीमित्रीहरू ल्यायौ ।

हामी हाफटाइममा छिछिटो खाजा खाएर कक्षाका डेस्क(बेन्च घिसार्दै चौरमा ल्याउँथ्यौ । झोलामा बोकेर ल्याएको दोकान डेस्कमाथि सजाउथियौ । सुरुमा त स्कुलका अरू विद्यार्थी हेरेका हेरै भए । कोही सोध्न पनि आए, के रमिता हो भनेर । हामीले प्रोजेक्ट वर्कु भन्यौं। सुनेर उनीहरू खासखुस गर्ने । अनि गोजी छाम्थे। हामीले सामान नै त्यस्तै छानेका थियौ मन भुलाउने, आँखा लोभ्याउने। हाफटाइमको आधाघन्टे छुट्टीमा जति हुन्छ बेचेर हामी आफ्नो दोकानलाई फेरि त्यही झोलामा पोका पार्थ्यम ।

अन्तिम घन्टीपछि दिनभरिको हिसाब जाल्पा मिसलाई देखाउनु पर्ने थियो। कुन चिज कतिमा किनेको, कतिमा बेचेको, कति नाफा भयो सब त्यही म्याथ कापीका चारपाटे कोठाहरूमा लेखेर बुझाउनुपर्थ्यो ।

व्यापारमा त्यो मेरो चञ्चुप्रवेश थियो । आज ४५ वर्षपछि मैले गर्ने कारोवार सैद्धान्तिक रूपमा त्यो भन्दा फरक छैन । सानो ठूलोको कुरा मात्र हो ।

बहुद्देश्यीय हाई स्कुलको त्यो सिकाइले मभित्र अर्द्धचेतन अवस्थामा रहेको व्यापारिक सोच र व्यवहारलाई जगाइदिने काम गर्यो भन्ने लाग्छ । बचत परिचालन, पुँजी निर्माण, बजारको माग बने, खरिद विकीबीच मार्जिन राख्ने यस्ता आधारभूत व्यापारिक सीप मैले त्यहाँ स्कुलको आधाघन्टे पसलबाट सिकें।

विद्यार्थीलाई परीक्षाको दौडमा सामेल गराउनेभन्दा ज्ञान दिनेगरी पढाउने त्यो स्कुलले मेरो जीवनमा एक सय असी डिग्रीको परिवर्तन ल्याइदियो। म त्यहाँको शैक्षिक वातावरणमा रमाएँ ।

मैले एसएलसीसम्म त्यहां पढ़ें । र, त्यहींबाट २०२८ सालको एसएलसीमा बोर्ड पाँचौ भएँ । हाम्रो स्कुलबाट अरू दुईजना साथी पनि बोर्ड आएका थिए । छैठौ स्वानमा विश्वम्भर चित्रकार र सातौंमा कृष्णबहादुर नापित ।

मेरो जिन्दगीको पहिलो र सबै भन्दा महत्त्वपूर्ण टर्निङ प्वाइन्ट त्यही स्कुलको वातावरण हो । त्यहाँ पाएजत्तिको शिक्षा त्यसपछिको कुनै पढाइले दिएन ।

आज तपाइँहरुको रिजल्ट जस्तो आएपनि जिन्दगी एकदम लामो छ । स्कुलमा सिकेको कुरा रिजल्ट भन्दा धेरै काम लाग्नेछन । अगाडी बढनुहोला । हार्दिक सुभकामना ।

चैत अन्तिम सातासम्म सञ्चालन भएको २०८० सालको एसईई परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । सहभागी विद्यार्थीमध्येको २ लाख २२ हजार ४ सय ७२ जना अर्थात् ४७।८६ प्रतिशत विद्यार्थीले मात्रै उत्तीर्ण गरेका छन् । यस्तै २ लाख ४४ हजार ३ सय १३ जना विद्यार्थी (एनजी) फेल भएका छन् ।