काठमाडौं । विश्वकै धनाढ्यको व्यक्तीको सुचीमा पर्ने मुकेश अम्बानीका छोराको बिहेमा नेपाली प्रतिष्ठित व्यापारी विनोद चौधरीलाई निम्तो आएको छ ।
विनोद चौधरीले सामाजिक सञ्जाल फेसबुक र एक्समा एक पोष्ट सेयर गर्दै उनले दुलाहा दुलहीलाई बधाई दिँदै मुकेश अम्बानीलाई निम्तोका लागि धन्यवाद दिएका छन् ।
उनले पोष्टमा लेखेका छन्, ‘‘बधाई छ, अनन्त र राधिका, हामी मुकेश भाइ र नीता अम्बानी जीलाई तपाईंको छोराको विवाहमा दयालु रूपमा निम्तो दिनुभएकोमा हामी सम्मानित र कृतज्ञ छौं, मेरो छोरा वरुण र बुहारी अनुश्रीले यस खुशीको अवसरमा गर्वका साथ हाम्रो परिवारको प्रतिनिधित्व गर्नेछन् ।’’
४ वर्ष प्रेम सम्बन्धमा रहेका अनन्त अम्बानी र राधिका मर्चेन्टले सन् २०२२ मा इन्गेजमेन्ट गरेका थिए । लामो प्रेम सम्बन्ध पश्चात अनन्त र राधिका जुलाई १२ मा विवाह बन्धनमा बाधिँदै छन् । सो बिहेमा विश्कै धनाढ्य व्यक्तिहरु सहभागी हुदैँ छन् भने नेपालबाट एक मात्र डलर अर्वपति विनोद चौधरीलाई पनि सहभागीका लागि निम्तो आएको हो ।
एसियाका नम्बर वान धनी व्यक्ति र विश्वका दशौं धनी अम्बानीका छोरा अनन्त र एनकोर हेल्थकेयरका सिइओ वीरेन मर्चेन्टकी छोरी राधिकाको यसअघि मार्च १ देखि ३ मार्चसम्म प्रि वेडिङ समारोह राखिएको थियो, जहाँ १२०० बढी अतिथिलाई बोलाइएको थियो । समारोहमा प्रस्तुति दिन हलिउड गायिका रिहानालाई बोलाइएको थियो भने बिल गेट्स, मार्क जुकरवर्ग लगायतका धनाढ्य व्यक्ति निमन्त्रणा गरिएको थियो ।
विश्वभर नै यो वर्षको मेगा इभेन्टका रुपमा हेरिएका अनन्त राधिकाको दोस्रो प्रि वेडिङ समारोह फ्रान्स र इटालीमा भएको थियो । जहाँ बलिउडका सुपरस्टारहरु पुगेका थिए भने अन्तर्राष्ट्रिय पपस्टार सकिरा र केटी पेरीले पनि यो समारोहमा प्रस्तुति दिएका थिए ।
छोराको बिहेलाई भव्य बनाउन कुनै पनि कसर बाँकी नराखेका मुकेश अम्बानीले अब तीन दिन मुम्बईमा विशाल पार्टी आयोजना गर्दैछन् । जुलाई १२ देखि १४ गतेसम्म बैबाहिक कार्यक्रममा विश्वभरका प्रतिष्ठित व्यक्तिहरुलाई निम्तो गरिएको हो । जिओ वर्ल्ड सेन्टरमा हुने भव्य समारोहमा नेपालबाट चौधरी परिवारलाई निम्तो आएको हो ।
नेपालमा मुख्य कार्यालय भएको चौधरी ग्रुप एक मात्र नेपाली मल्टिनेसनल कम्पनी हो । नेपाली कम्पनीलाई विश्वभर फैलाइरहेका विनोद चौधरीलाई नेपाली व्यवसायीहरुले पनि गौरवका रुपमा लिने गर्दछन् । चन्द्र सुर्य अंकित नेपाली झण्डालाई विश्वका विभिन्न मुलुकमा फैलाइरहेका विनोद चौधरी यति बेला राजनीतिमा पनि सक्रिय छन् । चौधरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नवलपरासीबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
सफल व्यवसायीका रुपमा राष्ट्रिय र अन्तर्राष्ट्यि रुपमा स्थापित चौधरी आफ्नो अनुभव, ज्ञान र सीपलाई राजनीतिमार्फत देशको समृद्धिमा प्रयोग गर्न सकिन्छ भन्ने उद्धेश्यका साथ राजनीतिमा सक्रिय छन् ।