• २०८३ असार १५
  • 2026 June 29, Monday

प्रदीप पाैडेलकाे राजनीतिक यात्रा: अस्कलको स्ववियु सभापतिदेखि स्वास्थ्यमन्त्रीसम्म

काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पदभार ग्रहण गरेका छन् ।

कांग्रेस–एमालेको नेतृत्वमा बनेको चार दलीय नयाँ सरकारमा पौडेलले आज शीतल निवासमा मन्त्रीको शपथ लिएका हुन् । नवनियुक्त प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा ‘नयाँ फेस’ भएका मन्त्रीहरुमध्ये पौडेल पनि एक हुन् । पौडेल २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं ५ बाट निर्वाचित सांसद हुन् ।

विगतमा ओली सरकारको अलोकतान्त्रिक अभ्यास र व्याप्त भ्रष्ट्राचारविरुद्ध सशक्त आवाज उठाउनेहरूमा पौडेल पनि अग्रपङ्क्तिमा थिए । तर उनी अहिले ओलीकै नेतृत्वमा रहेको मन्त्रिपरिषद्को सदस्यका रुपमा नियुक्त भएका छन् ।

पौडेलको राजनीतिक यात्रा

प्रदीप पौडेलले अमृत क्याम्पसबाट नेपाल विद्यार्थी सङ्घको नेताका रुपमा आफ्नो राजनीतिक करियर सुरु गरेका थिए ।

उनी विद्यार्थी आन्दोलनबाट राजनीतिमा आएका हुन् । उनले २०५३ सालमा अस्कल क्याम्पसको स्ववियु सभापति र २०६४ मा नेविसंघको केन्द्रीय अध्यक्ष भएर नेतृत्व गरे ।

२०५९ देखि २०६३ सालसम्म संयुक्त विद्यार्थी आन्दोलनको संयोजक भएर राजद्रोहको मुद्दाहरुमा बुलन्द रुपमा आवाज उठाए । उनी कांग्रेसका युवा नेता गगन थापा र पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग नेपालको जनआन्दोलन २०६३ मा अग्रपङ्क्तिमा रहेका प्रमुख युवा व्यक्तित्व हुन् ।

२०६७ बाट लगातार तेस्रो कार्यकाल केन्द्रीय सदस्य रहेका पौडेल कांग्रेसको चौधौँ महाधिवेशनमा महामन्त्रीको प्रत्यासी बनेर हारे । उनी २०७४ सालको निर्वाचनमा तनहुँबाट गण्डकी प्रदेश सभा सदस्यमा माओवादी केन्द्रकी आशा कोइरालासँग ६ मतले पराजित भएका थिए ।

२०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं ५ बाट प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का ईश्वर पोखरेललाई पराजित गर्दै पौडेल विजयी भएका थिए ।

१ चैत २०३२ मा तनहुँमा जन्मिएका पौडेलले सिद्धार्थ वनस्थली इन्स्टिच्यूटबाट एसएलसी, अमृत साइन्स क्याम्पस (अस्कल) बाट स्नातक र त्रिविबाट स्नातकोत्तर तहसम्मकाे अध्ययन पूरा गरेका हुन् ।

पौडेलले आफ्नो राजनीतिक करियरको सुरुवातीदेखि मन्त्री बन्दासम्म लोकतन्त्र, शान्ति, सुशासन, सामाजित हितका कार्यसँगै मानवअधिकारको क्षेत्रमा क्रियाशील भएर कार्य गरेका छन् ।