• २०८३ असार १५
  • 2026 June 29, Monday

संविधान संशोधनका लागि आजदेखि नै संघन छलफल हुनुपर्छ : शिवाकोटी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सरकारले संविधान संशोधन गर्दा राज्यमा बढ्दो खर्च कटौती र समावेशीको मुद्दालाई सम्बोधन गर्नुपर्ने औंल्याएका छन् ।

उनले समावेशीका माध्यमबाट लाभ लिइरहेकाहरु असतुष्टी हुने अवस्था सिर्जना हुनसक्ने भएकाले त्यसतर्फ सचेत हुनुपर्ने बताए ।नेपाल प्रेस युनियन केन्द्रीय समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा उनले राजनीतिक दलहरुको नियतप्रति पनि आम जनताले आवाज उठाइरहेको बताए ।

‘क्लष्टरका नाममा धेरैले जागिर पाएका छन् तर मानिसहरु असतुष्ट छन् । समावेशी बचाउने नाममा संख्या घटाउँदा असन्तुष्टी बढ्ने भएकाले त्यसतर्फ सचेत हुनुपर्छ । सरकारमा दलित समूदायको उपस्थित नहुनु दुर्भाग्य हो तर समूदायहरु आफैं जागरुक हुनुपर्ने देखिन्छ,’ उनले अगाडि भने,‘संविधान संशोधन गर्दा अस्थिरता बढ्ने कुरामा राजनीतिक नियत पनि हाबी हुने देखिन्छ ।

विगतमा पनि अस्थिरता थियो । कुनैबेला कांग्रेसकै एकमना सरकार हुँदा पनि अस्थिरता थियो । यस्तो अवस्थामा अस्थिरताका नाममा राजनीतिक नियतका बारेमा स्पष्ट अध्ययन हुनुपर्छ ।’शिवाकोटीले संविधान संशोधनका लागि अहिलेदेखि नै संघन छलफल गर्नुपर्ने सुझाए । उनले २०८२ को अन्तिमतिर संविधान संशोधनको प्रक्रिया अघि बढाउन आवश्यक रहेको बताए ।