• २०८३ असार १४
  • 2026 June 28, Sunday

काममा अन्यौलता पैदा हुन नदिन कार्य योजना अनुसार चलौं : सभापति शर्मा

काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले कार्ययोजना अनुसार चल्न सकेमा काममा अन्यौलताको अवस्था नआउने बताएका छन् ।

सोमबार समितिको वार्षिक कार्ययोजनामाथिको छलफलमा उनले कार्ययोजना अनुसार चल्न, काम गर्न सजिलो हुने भन्दै यसले गर्दा के गर्ने भनेर अन्यौलको अवस्था नआउने बताएका हुन् ।

उनले भने, ‘सार्वजनिक नीतिसँग भएका विषयलाई विज्ञ र सरोकारवालाहरुसँग छलफल गर्दा कति महिनामा सक्ने र कहिले गर्ने भन्ने कुरामा समय तोक्ने हो भने सजिलो हुन्छ । कुन महिनामा के गर्ने भन्ने कुरा तोकेर जाने हो भने कार्ययोजना अनुसार चल्न काम गर्न सजिलो हुन्छ, के गर्ने के गर्ने भनेर सोचेर बस्नु पर्ने अवस्था हुदैँन् ।’

यस्तै, उनले महिना र मौसम अनुसार कार्यतालिका बनाएर काम गर्न सजिलो हुने पनि बताए ।उनले भने, ‘बर्खाको समयमा बाहिर जान गारो हुन्छ, भित्रका कामहरु गर्ने, आन्तरिक छलफल गर्ने, असोज कार्तिकमा दशैं तिहारले प्रभाव पार्छ यहीसँग मिल्ने हिसाबको कार्यक्रम बनाउने, हिउदको समयमा अलि बढि भ्रमणका कार्यलाई बढाउने, आकस्मिक रुपमा केही भइहाल्यो भने त्यही समयमा छलफल गर्ने काम हुन्छ ।’

समितिको वार्षिक प्रतिवेदन आर्थिक वर्षको ३ महिनाभित्र बुझाउने नियम रहेको भन्दै असोजसम्म वार्षिक प्रतिवेदन पेश गर्ने उनको भनाई छ ।