त्रिकोणात्मक सिरिजमा नेपालले उपाधिका लागि अब पीएनजीसँग खेल्ने

काठमाडौं । नेपाल त्रिकोणात्मक टी२० आई सिरिजको फाइनलमा पुगेको छ ।

सिरिजको अन्तिम खेलमा शनिबार मलेसियालाई ८५ रनले पराजित गरी नेपाल फाइनल पुगेको हो । अब नेपालले उपाधिका लागि पपुवा न्यू गिनीसँग खेल्ने छ ।

शनिबार २ सय २४ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया १९ ओभर ५ बलमा १ सय ३८ रनमा अलआउट भयो । मलेसियाका भिरनदीप सिंहले सर्वाधिक ४७ रन बनाए । उनले २६ बलमा ९ चौका प्रहार गरे ।

नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट हात पारे। कमलसिंह ऐरी र दीपेन्द्र सिंह ऐरीले समान २/२ विकेट लिए ।

यसअघि ब्याटिङ गरेकाे नेपालले विशाल लक्ष्य प्रस्तुत गरेकाे थियाे । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५७ बलमा ६ छक्का र १० चाैकाकाे मद्दतले ११० रन पूरा गरे । रोहित पौडेल ३४ बलमा ५१ रनको उत्कृष्ट अर्धशतकीय इनिङ खेलेर आउट भए ।

ओपनर कुशल भुर्तेल १२ रन, आसिफ शेख १८ रनमा आउट भए । आदिल अलामले ९ बलमा १४ रन जोडे । आरिफ शेख २ रनमात्र बनाउन सफल भए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१