• २०८३ असार १४
  • 2026 June 28, Sunday

जलवायु परिवर्तन असर न्यूनिकरणमा नेपाल–भारत मिलेर अघि बढौं : राष्ट्रपति

  • २०८१ साउन २७, आइतबार १६:३२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् ।
राष्ट्रपतिको कार्यालय शीतल निवासमा आइतबार भएको शिष्टाचार भेटमा द्धिपक्षीय हित र सम्बन्धका विविध विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

भेटका क्रममा राष्ट्रपति पौडेलले जलवायु परिवर्तन असर न्यूनिकरणका लागि नेपाल भारत मिलेर काम गर्नुपर्ने बताए ।‘हिमाल र पानीको सुरक्षामा नै मानवजातिको सुरक्षा निर्भर रहेको हुनाले जलवायु परिवर्तनको असर न्यूनिकरणमा दुवै देश मिलेर काम गर्न जरुरी छ’, राष्ट्रपति पौडेलको भनाई उद्यृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।

राष्ट्रपति पौडेलले नेपाल भारतबीच अनादिकालदेखि जनस्तरसम्मको सम्बन्ध रहेको र नेपालको विकासमा भारतको ठूलो सहयोग रहेको उल्लेख गर्दै सचिव मिस्रीको कार्यकालमा दुवै देश बीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।

राष्ट्रपति पौडेलले आपसी हित र समृद्धिका लागि दुई देशबीचको मित्रता र सहकार्य अझ मजबुत बनाउनुपर्ने बताउँदै कृषिको आधुनिकीकरण, पूर्वाधार विकास, जलविद्युत, व्यापार, लगानी, पर्यटन तथा मानव संशाधन विकास नेपालको प्राथमिकता रहेको बताए ।

उनले नेपालमा जलविद्युत विकास, दिगो एवम् सहज ऊर्जा व्यापारका लागि प्रशस्त संभावना रहेको उल्लेख गरे ।सो अवसरमा भारतीय विदेश सचिव मिस्रीले जलवायु परिवर्तनको असर न्यूनिकरणको विषय दुवै देशका लागि चुनौति रहेकोले यसमा मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेपाल सरकारका कैयो योजनामध्ये ऊर्जा, कृषि, पर्यटनजस्ता नेपालको प्राथमिकतमा भारत पनि काम गर्न इच्छुक रहेको उनको भनाइ उनको भनाइ छ ।

  • २०८१ साउन २७, आइतबार १६:३२