• २०८३ असार १४
  • 2026 June 28, Sunday

‘सरकारले मात्र देश बन्दैन, अबको दशक युवाको उर्जाले नेपाल बदल्नुपर्छ’

कुनै पनि देशको निर्माण केबल सरकारको प्रयास वा मन्त्रिपरिषद्का निर्णयहरूबाट मात्र सम्भव हुँदैन। सरकारले नीति बनाउला, बाटो देखाउला, तर देशको वास्तविक स्वरूप बदल्ने शक्ति भनेको नागरिक, विशेषगरी युवा पुस्ताको उर्जा नै हो। त्यसैले, सरकारको निर्णयले मात्र देश बन्दैन भन्ने यथार्थलाई हामीले आत्मसात गर्न जरुरी छ।

सौभाग्यवश, अहिले हामीले एउटा यस्तो समय पाएका छौं, जहाँ सरकार र राज्य संयन्त्र हाँक्ने ठाउँमा युवाहरूको उपस्थिति बढ्दो छ। राज्यका विभिन्न तहमा युवामय नेतृत्व देखिनु हाम्रो लागि आशाको किरण हो। तर, नेतृत्वमा युवा पुग्दैमा सबै कुरा स्वतः ठीक हुन्छ भन्ने होइन। देश बन्नका लागि हरेक युवाको सोचमा स्पष्टता, संकल्पमा दृढता र कर्ममा इमानदार मेहनत आवश्यक पर्छ । युवाहरूको मेहनत र पसिना नै त्यो जग हो, जसमा समृद्ध नेपालको सपना अडिएको छ।

हामीले अबको दशकलाई नेपालको भविष्य निर्माणको ‘स्वर्ण दशक’का रूपमा लिएका छौं। यो दशक वास्तवमै युवाहरूको हातमा छ। हाम्रो अघिल्लो पुस्ताले ठूलो राजनीतिक त्याग, तपस्या र बलिदान दिएर एउटा लोकतान्त्रिक प्रणाली (सिस्टम) हामीलाई सुम्पिएको छ। उहाँहरूले राजनीतिक अधिकार प्राप्तिको लडाइँ लड्नुभयो, अब त्यो प्राप्त प्रणालीलाई सही ढंगले सञ्चालन गर्ने र विकासको गति दिने जिम्मेवारी हाम्रो काँधमा आएको छ।

आजको मुख्य चुनौती भनेको युवाहरूमा स्वदेशमै केही गर्न सकिन्छ भन्ने आत्मविश्वास जगाउनु हो। देशमै केही गर्ने अठोट र संकल्प आजको आवश्यकता हो। कामको खोजीमा वा अध्ययनको सिलसिलामा देशबाहिर रहेका युवाहरूले पनि आफ्नो ज्ञान, सीप र अनुभवलाई कुनै न कुनै माध्यमबाट मातृभूमिको हितमा प्रयोग गर्न सक्छन्। जहाँ भए पनि म मेरो देशका लागि केही गर्छु भन्ने उत्प्रेरणा हरेक युवाको मनमा हुनुपर्छ।

हाम्रो अवस्थाको चित्रण र भविष्यको मार्गचित्रबारे युवाहरूबीच निरन्तर छलफल र मन्थन हुन जरुरी छ। ‘राष्ट्रिय युवा महोत्सव’ जस्ता कार्यक्रमहरू केबल भेला हुने माध्यम मात्र होइनन्, बरु युवाहरूलाई दिलदेखि सुन्ने, कुरा बुझाउने र उनीहरूलाई राष्ट्र निर्माणको महायज्ञमा सहभागी हुन प्रेरित गर्ने थलो हुन्।

अन्तमा, देशको उर्जावान युवा पुस्तालाई मेरो आग्रह छ– यो देश तपाईंकै हो र यसलाई बनाउने जिम्मेवारी पनि तपाईंकै हो। तपाईंको उर्जा, सृजनशीलता र मेहनतबाटै यो देश सिञ्चित हुनुपर्छ।

(मोडल इन्स्टिच्युट अफ टेक्नोलोजीका अध्यक्ष सुरेन्द्र सुवेदीले शनिबार आयोजित ‘नेशनल युथ फेस्टिभल २०२६’ कार्यक्रममा दिएको मन्तव्यबाट सम्पादित ।)