क्लोथ एण्ड फूड बैंक नेपालकाे सहकार्यमा बुढानिलकण्ठ नगरपालिकामा कपडा बैंक सञ्चालन गरिने

काठमाडाैं । बुढानिलकण्ठ नगरपालिकाको कार्यालय र क्लोथ एण्ड फूड बैंक नेपालबीच कपडा बैंक सञ्चालन गर्ने सम्झाैता भएकाे छ ।

बुढानिलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारीले देशैभरि सञ्चालन गर्न लागिएको यो कार्यक्रमले हाम्रो घर, समाज र टोल सफा गर्नुकोसाथै साँच्चै आवश्यक व्यक्तिलाई कपडा प्रदान गर्नु उत्कृष्ट मानवीय कार्य हुने विश्वास व्यक्त गरे । उनले भने, ‘आफ्नो घर, टोल र समाजलाई सफा राखौँ ! कोही कपडाविहीन नरहुन् भन्ने मूलमन्त्रलाई आत्मासात् गर्दै पुन्य कार्यमा सहभागी बनौँ !’ भन्ने मूल नाराका साथ सुरु हुने यो अभियानले समग्र नगरबासीलगायत देशकै हित हुने विश्वास लिएकाे छु ।’

उनले हाल नगरपालिकाको कार्यालय र वडा नं १० को कार्यालय स्थित कपडा संकलन बक्स राखिने र आगामी आर्थिक वर्षमा प्रत्येक वडा कार्यालयमासमेत सञ्चालन गरिने योजना रहेको बताए । साथै उनले नगरवासीलाई पुरानो लत्ताकपडा, झोला, ब्याग, बेल्ट तथा दैनिक प्रयोगजन्य सामग्री जम्मा गरि आ–आफ्नो घर टोल समाज सफा पनि हुने र पून्यको कार्य पनि हुने हुँदा यो कार्यमा सहभागिताका लागि अनुरोध समेत गरेका छन् ।

प्रयोगमा नआएका लत्ता–कपडा संकलन गरेर पुन प्रशोधन (रि–साइकल) गरि आवश्यकताका आधारमा निशुल्क वितरण गरिने यो कार्यक्रममा जोडिन पाउँदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्यालले निकै खुशी लागेको बताए । मानव सेवाको लागि प्रयोगमा नआएका कपडालाई पुनः प्रयोग भन्‍ने मुल नाराका साथ नितान्त मानवीय सेवा भावले स्थापना गरिएको बैंकबाट अधिकतम् सेवा लिन सकिने उनले बताए ।

क्लोथ एण्ड फूड बैंक नेपालका प्रमुख अभियन्ता आविस्कार खनालले देशका सातै प्रदेशमा यो अभियान सञ्‍चालन भैरहेको र देशभरका स्थानीय सरकार तथा विभिन्‍न संघ–संस्थालाई यो अभियानमा सहकार्य गर्न सबैलाई आव्हान गरे ।

क्लोथ एन्ड फुड बैंक नेपालका परिकल्पनाकार तथा संस्थापक अध्यक्ष कमल जि.सीले अहिलेसम्म करिब १६० स्थानीय सरकार यो अभियानमा जोडिएको जानकारी दिए । साथै उनले बुढानिलकण्ठ नगरपालिकालाई धन्यवाद ब्यक्त गरे ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१