
नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ ( ईस्कोन नेपाल) गण्डकी शाखाले यही मिति २०८१ साल भाद्र १० गते सोमबारका दिन भगवान श्रीकृष्ण जन्माष्टमीको अवसरमा मालढुङ्गा, खुदुर्के श्रीकृष्ण जन्माष्टमी महामहोत्सव कार्यक्रमको आयोजना गरेको छ।
उक्त अवसरमा इस्कोन बागलुङको मूल समारोह दिउँसो ४ बजे हुनेछ भने रात्रिको १२ बाजेसम्म भजन कीर्तन, लीला प्रवचन, नाटक, नृत्य, दिपदान, महाअभिषेक र सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने साथै उक्त ठाउँमा आवतजावतको निम्ति दिउँसो २ बजेदेखि जीपपार्कबाट नि:शुल्क बास सेवा सञ्चालन गर्ने कार्यक्रम संयोजक भगवतसेवा दासले बताए।
कला संस्कार तथा संस्कृतिले भरिपूर्ण देवभूमि नेपालको विकासमा धार्मिक पर्यटनको सर्वाधिक महत्व रहेको छ। श्रीकृष्ण जन्माष्टमी जस्ता पर्वहरू मनाउनु धर्म संस्कार तथा संस्कृतिको रक्षा गर्नु मात्र नभएर समग्र देश विकासको महत्वपूर्ण कोशेढुङ्गा पनि हो भन्ने भावना राखेर यस धार्मिक उत्सव आयोजना गर्न लागेको ईस्कोन बागलुङका अध्यक्ष जगतगुरु गिरीधारी दासले बताए।
कृष्णदास कविराज गोस्वामीद्वारा लिखित चैतन्य चरितामृत मध्यलीला २०. २६३-२६४ मा भगवानको अवतारको सिद्धान्त प्रस्तुत गरेका छन्।
सृष्टि हेतु यही मूर्ति प्रपञ्चे अवतारे।
सोही ईश्वरमूर्ति अवतार नाम धरे।।
मायातीत परव्योमे सबार अवस्थान।
विश्वे अवतारी धरे अवतार नाम।।
अर्थात्, भौतिक रूपमा देखिनको निम्ति भगवानको धराधामबाट यो धराधाममा अवतरित हुनुहुन्छ। यसरी आउने ईश्वरको विशिष्ट स्वरूपलाई अवतार भनिन्छ। यस्ता अवतारहरू मूलरूपमा भगवतधाममा विराजमान रहनुहुन्छ। तिनै अवतारहरूमा जब भौतिक सृष्टिमा प्रकट हुन्छन् त्यतिसम्म तिनीहरूलाई अवतार मानिन्छ।
भगवान श्रीकृष्ण आधुनिक भारतको मथुरा शहरमा अवतीर्ण हुनु भएको थियो। श्रीकृष्णलाई जन्मिएकै बेला कंशबाट बचाउन उनका पिता वसुदेवले, गोकुलवासीलाई नन्द महाराजको घरमा पुर्याउनु भएको थियो। त्यसैले श्रीकृष्णको बाल्यकाल नन्दमहाराज को घरमा बितेकाले उनलाई गोपाल तथा नन्दलालको नामले पनि चिनिन्छ।
श्रीकृष्ण जन्माष्टमीमा हिन्दूहरूले भगवान श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले उक्त दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ।
भगवान श्रीकृष्णले गोकुल, वृन्दावन र ब्रजमा रहँदा कैयैँ बाल लिलाहरू घटित भएका थिए। कहिले कसैको घरको मखन चोरी त कहिले गोठालाहरूसँग वनमा गाई चराउन जनुभो। कहिले राधा र गोपिनीसँग रासलिला, त कहिले माता यशोदालाई भए नभएका मागहरू राखेर दिक्क पारेको कुरा श्रीकृष्ण चरित्रमा पढ्न पाइन्छ। साथै, पुतना, बत्सासुर, बकासुर, प्रलम्बासुर आदी ठूला ठूला वीर असुरहरूको बध अनि नलकुवर र मणिग्रीवको उद्धार समेत गर्नुभएका श्रीकृष्णले ब्रजवासीलाई इन्द्रको मुसलधारे वर्षाबाट बचाउन देब्रे हातको कान्छी औठाले गोवर्धन पर्वतलाई उचाल्नु भएको।
जब–जब पृथ्वीमा ठुला–ठुला सङ्कटहरू आइ पर्छन्, तब–तब धर्मस्थापनाअर्थ भगवानले आफ्नो अवतार रूपमा यस धरधाममा अवतार लिइ असत्य माथि सत्यको विजय गराउन महत्त्वपूर्ण भूमिका खेलेको व्यहोरा वैद्विक बाङ्मयमा उल्लेख छ।
श्रीमद्भागवत गीता यथारूप ( ४.९) मा भगवान श्रीकृष्ण बताउनुहुन्छ,
जन्म कर्म च मे दिव्यमेवं यो वेत्ति तत्त्वतः ।
त्यक्त्वा देहं पुनर्जन्म नैति मामेति सोऽर्जुन।।९।।
अर्थात् जसले भगवानको जन्म र कर्मलाई बुझ्दछ उसले यस संसारमा फेरि जन्म लिनु पर्दैन।