• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

नेपालले जित्याे त्रिदेशीय टी-२० शृङ्खलाको उपाधि

काठमाडौं । नेपालले त्रिदेशीय टी-२० शृङ्खलाको उपाधि जितेको छ । साेमबार भएको फाइनल खेलमा पुपुवा न्यूगिनी (पीएनजी) लाई ५० रनले पराजित गरी नेपालले उपाधि जितेको हो ।

उपाधिका लागि नेपालले प्रस्तुत गरेको १ सय ६९ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६.२ ओभरमा १ सय १८ रनमा अल आउट भयो ।

पीएनजीका सेसे बाउले ३८ बलमा १ चौका र ६ छक्कासहित सर्वाधिक ५९ रनको योगदान दिए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

यसअघि, त्रिवि क्रिकेट मैदानमा टस हारे पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएकाे हाे ।

नेपालका लागि दिपेन्द्रसिंह ऐरी र करण केसीले उत्कृष्ट प्रदर्शन गरे । दिपेन्द्रले ३८ बलमा ५ चौका सहित सर्वाधिक ५४ रनको उत्कृष्ट अर्धशतकीय इनिङ खेले । करणले १२ बलमा ५ चौका र एक छक्कासहित ३३ रन जोडे ।

ओपनर कुशल भुर्तेल २५ रन, आसिफ शेख २९ रन, रोहित पौडेल २ रनमा आउट भए । आदिल अलाम १५ रनमा पभेलियन फर्किए ।

नेपाल अपराजित रहेर नै उपाधि जितेकाे हाे । लिगमा नेपालले पीएनजीलाई १५ रन र ३७ रनले हराएको थियो । मलेसियालाई ६ विकेट र ८५ रनले हराएको थियो ।