• २०८३ जेठ २५
  • 2026 June 08, Monday

मन्त्रालयको मुख्य समस्या नै बेजट हो : मन्त्री चौधरी

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजु लाल चौधरीले मन्त्रालयसँग सम्बन्धित ऐन र नीतिहरुमाथि काम भइरहेको भएपनि बजेट अभावका कारण पूर्वाधार निर्माण रोकिएको गुनासो गरेका छन् ।

बिहीबार शिक्षा विज्ञान एवं सूचना प्रविधि समितिको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विद्यमान अवस्था, भए गरेका कामकारबाही, समस्या तथा चुनौती र भावी कार्यदिशाका सन्दर्भमा सांसदहरुले राखेका जिज्ञासाहरुको जवाफ दिँदै मन्त्री चौधरीले देशको झण्डै ४२ प्रतिशत युवाहरु खेलकुद मन्त्रालय अन्तर्गत रहेको भएपनि बजेट अभावमा काम गर्न अप्ठ्यारो भएको गुनासो गरेका हुन् ।

उनले भने, ‘देशको झण्डै ४२ प्रतिशत युवाहरु युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेका छन् । तर बजेट सबै मन्त्रालयभन्दा कम यही मन्त्रालयमा छ । राष्ट्रिय युवा नीति सम्भव भएसम्म भाद्र नभए असोजमा लयाउने तयारी गरेका छौं । यसमा व्यापक छलफल गरेर अन्तिम तिर पुगेका छौं । त्यसैगरी, राष्ट्रिय खेलकुद नीति,२०७२ लाई पनि संशोधनको तयारी गरेका छौं । असोजसम्म प्रकाशन गर्ने तयारी गरेका छौं । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को संशोधनका लागि छलफल भइरहेको छ ।

अगामि हप्तासम्म अर्थ मन्त्रालयमा राय सुझावका लागि पठाउने तयारी गरेका छौं । तर, आजको दिनमा मन्त्रालयको मुख्य समस्या नै बेजट हो । कार्यक्रमहरु सञ्चालन गर्नका लागि बजेट नै आवश्यक पर्दछ । बजेट अभावका कारणले लामो समयसम्म पूर्वाधार निर्माण समेत हुन सकेको छैन । बजेट अभावकै कारणले कयौं रंगशालाहरु अधुरै रहेका छन् । पूर्वाधार निर्माण सम्पन्न गर्नका लागि इकाई गठन गर्नुपर्ने देखिएको छ ।’

उनले पारा ओलम्पिकमा काँस्य पदक विजेता पलेसा गोवर्धनलाई दिने भनिएको ६५ हजार रुपैयाँ पुरस्कार भोलि वितरण गरिने जानकारी दिए ।‘पारा ओललम्पिक खेलकुदमा काँस्य पदक हासिल गरि राष्ट्रिय एकता र नेपालको गौरव बढाएकोमा तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई भोलि कर नकाटिकन ६५ लाख रुपैयाँ पुरस्कार वितरण गर्ने तयारी गरेका छौं,’उनले भने ।दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि आवश्यक तयारीमा मन्त्रालयमा जुटेको चौधरीले उल्लेख गरे ।