
काठमाडौं । पछिल्लो समय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आपूर्ति क्षेत्रमा चालेका कदमको कारण दैनिक उपभोग्य सामग्रीहरुको बजार मूल्य घटेको दावी गरेका छन् ।नीतिगत रुपमा बजार हस्तक्षेप, नियमित अनुगमन तथा सुपथ मुल्यका पसलहरु सञ्चालन गरेपछि बजार मूल्य घट्नुका साथै कालोबजारी नियन्त्रणमा आएको उनको दावी छ ।
अहिले बजारमा चिनीमा प्रतिकेजी १५ रुपैंयाँ र खाने तेलमा प्रतिलिटर १० रुपयाँ घटेको, यसका साथै नून, दाल, पिठो, मैदाको पनि मुल्य घटेको मन्त्रीको सचिवालयले जनाएको छ । सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा सञ्चालित सुपथ मुल्यका पसलहरुबाट सस्तोमा गुणस्तरीय उपभोग्य बस्तुहरु उपलब्ध भइरहेका दावी गरिएको छ ।
चाडपर्वको समयमा उपभोग्य बस्तुहरुको मुल्य घटेपछि उपभोक्तालाई सहज भएको र खाद्य तथा साल्टले सञ्चालन गरेका पसलहरुमा उपभोग्य सामग्रीको पर्याप्तता रहेको बताइएको छ ।
मन्त्री भण्डारीको निर्देशनमा तिव्र रुपमा बजार अनुगमन भइरहेको सचिवालयले जनाएको छ । ७ असोजमा ३५ रुपैंयाँ पर्ने बोतलको पानी एकसय रुपैंयाँमा बिक्री गरेको पाइएपछि काठमाडौंस्थित जिम्बु रेष्टुरेण्टलाई कारवाही गरी तीन लाख रुपयाँ जरिवाना अशुल गरिएको थियो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एमआरपी भन्दा बढि मुल्यमा सामान बिक्री भएको पाइएमा तुरुन्त खबर गर्न सूचना जारी गरेको छ ।
मन्त्री भण्डारीले एक सय दिनका लागि तयार गरेको कार्य योजनामा ४ हजार ३ सय बढी पटक बजार अनुगमन गर्ने, अनुगमन पूर्वसूचना बाहिरिने प्रवृत्ति हटाउने लगायतका कुराहरु उल्लेख गरेका छन् ।
नियमित रुपमा भइरहेको बजार अनुगमनका कारण म्याद गुज्रिएको सामानहरु बिक्री वितरणमा कमी आएको जनाइएको छ । मन्त्री भण्डारीले राजमार्ग क्षेत्रका होटलमा गुणस्तरहिन खानेकुरा बिक्री हुने गरेकाले अनुगमन बढाउन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उपभोक्ता मारमा पर्ने कुरामा सरकार गम्भीर ढंगले लाग्ने बताएका थिए । उनले व्यापारिक क्षेत्रको बदमासी र अनियमीतता रोक्नुपर्ने बताएका थिए । सोही अनुरुप उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीले कालोबजारीका कारण उपभोक्ता मारमा पर्ने स्थिति हटाउन नीगितग सुधार गर्दै आएका हुन् ।