उदयपुर घटनामा पक्राउ परेका दाजु–बहिनी सार्वजनिक

उदयपुर । उदयपुर जिल्लाको बेलका नगरपालिका ३ बुद्धचोकमा भएको बालिका हत्याका आरोपीलाई उदयपुर प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

कोशी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत वर्ष १६ की कविता सुनुवारको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका भारतको सिक्किम राज्य बियुङ स्थायी घरभई जिल्ला उदयपुर बेलका-३ बस्ने विनोद ढकाल र बेलका-३ की १७ की नाबालिकालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुुरले बुधबार पत्रकार सम्मेलन गरि हत्यामा संलग्नलाई सार्वजनिक गर्नुको साथै बालिकाको हत्याभएको सूचना पाएको दुई घण्टा भित्र हत्यामा संलग्नहरुलाई पक्राउ गर्न उदयपुर प्रहरी सफल भएको जनाएको छ ।

सार्वजनिक गरिएका आरोपी ढकाललाई ७ दिन र नाबालिकालाई उदयपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक शुवासचन्द्र बोहोराले जानकारी दिए ।

सुनुवारलाई ढकाल र नाबालिकाले योजनाबद्ध ढंगले बियरको बोतल र ढुंङ्गाले किचेर हत्या गरेको खुल्न आएको छ । विद्यालयमा भएको समान्य झगडाको रिसिईबीको कारणले आरोपी नाबालिकाले नाताले दाजु पर्ने ढकालको सहयोग लिएर हत्या गरेको प्रहरीले जनाएको छ ।

यस्तै, उदयपुरका राजनैतिक दल एवम् विभिन्न संघ संस्था तथा अधिकारकर्मीहरुले कविता सुनुवार हत्याको सत्य तथ्य छानविन गरि हत्यामा संलग्नलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१