अहिले यातायात व्यवसायको क्षेत्रमा धेरै विकृतिहरु देखा परेका छन् :मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अहिले यातायात व्यवसायको क्षेत्रमा धेरै विकृतिहरु देखा परेको बताएका छन् ।

सोमबार नेपाल पर्यटन बोर्डमा आयोजित ‘सार्वजनिक यातायातको नियमन र विद्यार्थी सहुलियतको कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बस पार्कहरुमा पनि यात्रुहरुलाई दुख दिने, टिकट ब्ल्याकमा बेच्ने जस्ता अनेक विकृतिहरु बढिरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताए ।

उनले भने, ‘अहिले हवाई भाडा पनि हामीले अनुरोध गरेपछि केही घटाउनुभएको छ । अहिले विकृति सबैतिर छ । यातायात व्यवसायको क्षेत्रमा पनि धेरै विकृतिहरु छन् । फेरि सेन्डिकेट आउँछ कि भन्ने यहाँहरुले आशंका गर्नुभएको छ । त्यसलाई हामीले नियन्त्रण गछौं । बस पार्कहरुमा पनि यात्रुहरुलाई दुख दिने, टिकट ब्ल्याकमा बेच्ने जस्ता अनेक विकृतिहरु छन् त्यसलाई पनि रोक्न आवश्यक छ ।’मन्त्री दाहालले दशैंमा जनतालाई आफ्नो घर जानका लागि सहजता सृजना गर्ने सरकारको पहिलो कर्तव्य रहेको भन्दै सरकार त्यसैमा लागिपरेको जानकारी दिए ।

उनले भने, ‘दशैंमा जनतालाई आफ्नो जिल्लामा घरमा जान विद्यार्थीलाई आफ्नो घरमा जान कसरी सहजता सृजना गर्ने भन्ने त्यो कुरा हाम्रो पहिलो कर्तव्य हो त्यसैले हामी अहिले त्यसैमा लागिपरेका छौं भन्ने जानकारी गराउँछु ।’उनले लोकतन्त्र र गणतन्त्रको कुरा साझा सवालमा प्राप्त गरिसकेको भन्दै अब बाँकी रहेको देश निर्माण र समृद्धिको काम पूरा गर्न आवश्यक रहेको उनको भनाइ छ ।उनले भने, ‘लोकतन्त्रको कुरा गणतन्त्रको कुरा जुन उठाइरहेका थियौं । हाम्रा साझा सवालमा हामीले ति प्राप्त गयौं । अब हाम्रो देश निर्माणको लागि संमृद्धिको लागि काम बाँकी छ । यो देशलाई समृद्धितर्फ लैजान आवश्यक छ ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१