मूल्यवृद्धि गरेर कृत्रिम अभाव सिर्जना गर्ने कुचेष्टा भयो : मन्त्री भण्डारी

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बजारमा वस्तुको मूल्यवृद्धि गरेर कृत्रिम अभाव सिर्जना गर्ने कुचेष्टा गरिएको बताएका छन् ।

बिहीबार काठमाडौंमा हिमालयन इन्टरनेसनल एक्सपो २०२४ लाई सम्बोधन गर्दै मन्त्री भण्डारीले चाडवाडको बेला बजारमा वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने प्रयास भएपनि सरकारले त्यसो हुन नदिएको बताए ।सरकारले संचालनमा ल्याएका दशैंलक्षित सुपथ मूल्यका पसलहरु प्रभावकारी भएको उनको भनाइ छ ।उनले भने, ‘बजारमा मूल्यवृद्धि गरेर कृत्रिम अभाव सिर्जना गर्ने गरिएको छ । सरकारले एक्सन लिएपछि केही सहज भएको छ ।चाडपर्वलाई लक्षित गरेर मन्त्रालयले सुपथ मूल्यका पसलहरु देशव्यापी रुपमा सञ्चालन गरिरहेको छ ।

पेट्रोलियम पदार्थमा मूल्य घटाएको छ । अत्यवश्यक खाद्य वस्तुहरुमा मूल्य घटाइएको छ । सुपथ पसलहरु प्रभावकारी देखिएको छ ।’त्यस्तै मन्त्री भण्डारीले वस्तुको उत्पादनमा कमी आएका कारण वर्षेनी अर्बौं रुपैयाँका सामान आयात गर्नुपरेको बताए ।‘नेपालमा वस्तु उत्पादन गरौं । उत्पादन नहुँदा आयातमा निर्भर हुनुपर्ने अवस्था आएको छ । वर्षेनी १० अर्बको वस्तु आयात हुने गरेको छ । अहिले सरकारले ४० अर्बको अनुदान दिएर पनि वस्तु आयात गर्नुपर्ने अवस्था छ । उखुमा किसानलाई प्रतिकेजी ७० रुपैयाँ अनुदान दिइरहेका छौं । तर, चिनी उत्पादक संघले सरकारले तोकेको मूल्यमा दिन तयार छैन । सरकारले बोलाएका कार्यक्रमहरु बहिस्कार गरेर हिँडिरहेका छन् ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१