मंसिर १४ र १५ गते तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुने

काठमाडौं । तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन मंसिर १४ र १५ गते अर्थात् नोभेम्बर २९ र ३० का दिन हुने भएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयाजना गर्दै प्याब्सनले उक्त शैक्षिक सम्मेलन काठमाडौंको होटल हायत रिजेन्सीमा सम्पन्न गर्ने जानकारी दिएको हो ।सम्मेलनका मुख्य उद्देश्यहरूमा विद्यालयको स्तर उन्नति, कक्षा कोठाको सुधार, शैक्षिक नेतृत्वको विकास र शिक्षक–विद्यार्थीको शैक्षिक गतिविधिलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा गहन छलफल हुनेछ । सामुदायिक विद्यालयका शिक्षकहरूलाई समेत सहभागी गराइनेछ ।

सम्मेलनमा फिनल्यान्ड र बेलायत जस्ता शिक्षामा अग्रणी देशहरूबाट प्रतिष्ठित वक्ताहरूले आफ्ना अनुभव र सफल शैक्षिक मोडलहरू प्रस्तुत गर्नेछन् साथै सम्मेलनलाई नेपाल सरकारको शिक्षा मन्त्रालय र व्रिटिस काउन्सिलद्वारा सहजीकरण गर्नेछन् ।
सम्मेलनमा भुटान, पाकिस्तान, बङ्गलादेश, श्रीलंका, भारत र भियतनामबाट पनि सहभागिताका लागि निश्चित भइसकेको आयोजकले जानकारी दिएको छ ।दुई दिनसम्म चल्नेसम्मेलनमा १२ भन्दा बढी सेसनहरू हुनेछन्, जसमा विविध शैक्षिक विषयका छलफल, नीतिगत बहस, र विद्यालय सुधारका लागि प्रभावकारी उपायहरूको खोजी गरिनेछ ।साथै, विद्यालय व्यवस्थापन, शिक्षक प्रशिक्षण, र शैक्षिक नेतृत्वको सुदृढीकरणमा महत्वपूर्ण सुझावहरू प्रस्तुत गरिनेछन् । अन्तर्राष्ट्रिय स्तरको शिक्षा नेपालमा नै प्रदान गरी नेपालबाट बाहिरिने विद्यार्थी रोक्न र नेपालमा नै विदेशी विद्यार्थी अध्ययन गराई नेपाललाई शैक्षिक गन्तव्य बनाउन पनि सम्मेलनको उद्देश्य रहेको छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१