• २०८३ जेठ २२
  • 2026 June 05, Friday

उपाधि हामीले जित्नै पर्छ : कप्तान एन्जिला

काठमाडौ । राजधानीमा जारी महिला साफ च्याम्पियनसिपको फाइनल खेल बुधबार हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ६ बजे सुरुहुने खेलमा उपाधिका लागि घरेलु टोली नेपाल र डिफेन्डिङ च्याम्पियन बंगलादेश आमने सामने हुँदै छन् ।

फाइनल खेल अघि मंगलबार भएको पत्रकार सम्मेलनमा नेपाली टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले बंगलादेशविरुद्धको फाइनल जसरी पनि जित्ने गरी मैदान उत्रिने बताइन् । उनले अहिलेको आफूहरुको टिम उत्कृष्ट रहेको बताउँदै ‘हामी गर्छौं हामी जित्छौं भन्ने नारा नै’ रहेको प्रष्ट पारिन् । उनले भनिन् ‘अहिलेको टिमले प्रतियोगिता नजिते अर्को ५–१० वर्ष लाग्न छ । हाम्रो टिम बण्डिङ पनि राम्रो छ ।’सन् २०२२ को फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएकाले धेरैले बदला लिने अवसर भनि रहेका बेला कप्तान एन्जिलाले बंगलादेशविरुद्ध बदला लिने भन्दा पनि उपाधि जित्ने नेपालका लागि अवसरको रुपमा ब्याख्या गरिन् ।

नेपालले साफ महिला च्याम्पियनसिपको ६ मध्ये ५ संस्करण फाइनल खेल्दा जहिले पनि उपाधि विमुख भएको छ । २०२२ को फाइनलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको थियो ।नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले नेपाल फाइनलका लागि तयार रहेको र जित्नका लागि खेल्ने प्रष्ट पारे । सेमिफाइनलमा भारतविरुद्धको नतिजाबाट उत्साहित देखिएका प्रशिक्षक तामाङले गल्ती कमिकमजोरी सच्याएर टिमले खेल्ने उल्लेख गरे ।यसैगरी, बंगलादेश टिमकी कप्तान सविना खातुनले नेपालसँगको फाइनल चुनौतीपूर्ण हुने बताउँदै उपाधि रक्षाका लागि मैदान उत्रने उल्लेख गरिन् ।यसैबीच, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार नै साफ महिला च्याम्पियनसिपको ट्रफी पनि सार्वजनिक गरिएको छ । दुवै टिमका कप्तान र प्रशिक्षकले ट्रफीसँगै फोटोसुट गरेका थिए ।