• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

वुमन्स अफ द वल्र्ड फेस्टिभल शनिबारदेखि काठमाडौंमा

काठमाडौं । ‘वुमन्स अफ द वल्र्ड फेस्टिभल’ को सातौं संस्करण शनिबारदेखि काठमाडौँमा आयोजना हुने भएको छ ।

मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी काठमाडौं महानगरपालिका र व्रिटिस काउन्सिलले संयुक्त रुपमा मंसिर ८ र ९ गते फेस्टिभलको आयोजना गर्न लागेको काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले जानकारी दिएकी हुन् उपप्रमुख डंगोलले कार्यक्रममा महिलाहरको कुरा मात्र नभएर सबै विषयलाई समेटेर समावेशी पनि बनाउने कोशिस गरेको भन्दै वुमन्स अफ द वल्र्ड भन्ने वित्तिकै महिला मात्रै जाने होला भन्ने नसोची सबै जनालाई आउँनको लागि अपिल गरिन् ।

उनले भनिन्,‘हामीले कार्यक्रममा महिलाहरुको कुरा मात्र नभएर सबै विषयलाई समेटेर समावेशी पनि बनाउने कोशिस गरेका छौं । यो सबैका लागि हो पनि भन्ने चाहन्छु । ८ र ९ गते यो कार्यक्रम हुँदैछ । नक्साल नारायण चौरमा आउन आउनुहोला । वुमन्स अफ द वल्र्ड भन्ने वित्तिकै महिला महिला मात्रै जाने होला भन्ने पनि लाग्न सक्छ । यो कदापी होइन् । यहाँ सबै जनाको लागि निमन्त्रणा छ ।’ महानगरपालिकाका उपप्रमुख डंगोल र काउन्सिल कन्ट्री डाइरेक्टर सहिदा म्याकडुगलले फेस्टिभलको संकेत चिन्ह पहिले नै सार्वजनिक गरिसकेका छन् ।

सन् २०११ मा लण्डनको साउथ वैङ्कमा पहिलो सम्मेलन गरिएको थियो । लैङ्गिक समानता र समावेशीकरणका लागि सकारात्मक परिवर्तन गराउन महिलाहरुको आवाजलाई सशक्त बनाउनु फेस्टिभलको मुख्य लक्ष्य हो ।दुई दिने फेस्टिभलमा तीन वटाभन्दा धेरै प्रकृतिका प्रदर्शनी हुनेछन् । २५ वटाभन्दा धेरै स्टल हुनेछन् । ४० भन्दा धेरै संवाद र मन्तव्य हुनेछन् । १० वटाभन्दा धेरै चलचित्र प्रदर्शन गरिनेछ ।पाँच वटाभन्दा धेरै कार्यशाला गरिनेछ । १० वटाभन्दा धेरै सांगीतिक प्रस्तुती हुनेछन् । कम्तीमा पाँचसय विद्यार्थी सहभागी गराउने लक्ष्य राखिएको कार्यक्रममा एकसयजना भन्दा धेरै कलाकारसहित १० हजारभन्दा धेरै व्यक्तिको सहभागिता हुने अपेक्षा गरिएको छ ।