• २०८३ साउन २
  • 2026 July 18, Saturday

२६ जना सरकारी अधिकारीको टोली भारत भ्रमणमा जाँदै

काठमाडौं : २६ नेपाली कूटनीतिज्ञ तथा अधिकारीको टोली बुधबार भारत भ्रमणमा जाने भएको छ।

नयाँ दिल्लीस्थित विदेश मन्त्रालयको सुषमा स्वराज विदेश सेवा संस्थानमा नेपाली कूटनीतिज्ञ तथा अधिकारीका लागि राखिएको पहिलो विशेष प्रशिक्षण कार्यक्रममा सहभागी हुन १० प्रमुख मन्त्रालय र विभागका २६ जना नेपाली कूटनीतिज्ञ तथा अधिकारीको समूह भ्रमणमा जान लागेको हो। टोलीले भोलिदेखि मंसिर १५ गतेसम्म भ्रमण गर्न लागेको हो।

टोलीमा परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शहरी विकास मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा रेल विभागका प्रतिनिधि रहेका छन्।

प्रशिक्षण कार्यक्रममा वैश्विक राजनीतिक तथा आर्थिक सान्दर्भिकता, व्यापार तथा कनेक्टिभिटी, जलवायु परिवर्तन तथा मानवीय सहायता, विकास साझेदारी, साझा संस्कृति र सम्पदा विषयमा मोड्युलहरु राखिनुका साथै नयाँ दिल्ली बाहिरका पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण शहर र ठाउँको भ्रमण समावेश छन् ।

काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले मंसिर ४ गते २६ जना नेपाली कूटनीतिज्ञ तथा अधिकारीसँग भारत जानुअघि अन्तरक्रिया गरेका थिए। उनीहरू सबैलाई उपयोगी, फलदायी र आनन्ददायी प्रशिक्षण अनुभवको कामना गरेका थिए।

नेपाली कूटनीतिज्ञ तथा अधिकारीहरूको भारत भ्रमणले हाम्रो संस्थागत आदानप्रदानलाई निरन्तरता दिनुका साथै यसले नेपाल र भारतबीचको घनिष्ठ र विशिष्ट द्विपक्षीय सम्बन्धलाई झल्काउँछ।