• २०८३ साउन १
  • 2026 July 17, Friday

लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको दोस्रो संस्करण आयोजना

लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको दोस्रो संस्करण आयोजना

काठमाडौं : नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको दोस्रो संस्करण आयोजना गरेको छ। राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा आज महोत्सव आयोजना गरेको हो।

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर, लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्ड विक्रम न्यौपाने, लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना,लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा र काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप-प्रमुख प्रसन्न श्रीवास्तवले संयुक्त रुपमा उद्घाटन गरेका थिए।

बौद्ध धर्ममा विशेष केन्द्रित हुँदै भारत र नेपालको समृद्ध सांस्कृतिक सम्पदा र परम्परालाई मनाएको छ। साँझमा भारत र नेपालका कलाकारहरुको प्रस्तुति सहितको एक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।

कार्यक्रमको मुख्य आकर्षण शिखा शर्माको नेतृत्वमा भारतबाट आएको आठ सदस्यीय समूहको बौद्ध धर्मको विषयमा आधारित कथक नृत्यको प्रस्तुति थियो। यो प्रस्तुतिलाई नयाँ दिल्लीस्थित भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर)ले सहयोग गरेको थियो। सोही कार्यक्रममा स्वजन रघुवंशी र उनको समूहले परम्परागत नेपाली नृत्य पनि प्रस्तुत गरेका थिए।

महोत्सवको एक हिस्साका रूपमा आज बिहान लुम्बिनी बौद्ध विश्वविद्यालयमा ‘भारत र नेपालको बौद्ध सांस्कृतिक सम्पदा’ विषयक शैक्षिक गोष्ठी आयोजना गरियो। गोष्ठीमा भारत र नेपालका प्रख्यात बौद्ध विद्वानहरू सहभागी थिए। उनीहरूले दुवै देशका बौद्ध सम्पदाको सांस्कृतिक र ऐतिहासिक महत्त्वका बारेमा आफ्नो बहुमूल्य अन्तर्दृष्टि साझा गरे।

सोही बिहान कथक नृत्यांगना शिखा शर्मा र उनको नृत्य समूहले कथक नृत्यकला बारे जानकारी गराउँदै रुपन्देहीको रोहिणी-३ स्थित रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयका विद्यार्थीहरूसँग कुराकानी गर्‍यो। विद्यालयको भवन भारत सरकारको आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा निर्माण गरिएको हो। यस अन्तरक्रियाले भारतीय शास्त्रीय नृत्यको समृद्ध सम्पदालाई प्रवर्द्धन गर्नुका साथै विद्यालयका युवा विद्यार्थीहरूमाझ भारतीय कलाका विविध प्रकारमा गहिरो अभिरुचि राख्न प्रेरित गरेको दूतावासले उल्लेख गरेको छ।

महोत्सवको हिस्साको रूपमा भारतबाट आएका कथक नृत्य समूहले काठमाडौं र पोखरामा पनि आफ्नो प्रस्तुति प्रस्तुत गर्नेछ। जनता-जनता बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै र हाम्रो सांस्कृतिक सम्पदालाई मनाउँदै यस सांस्कृतिक महोत्सवले भारत र नेपाल बीचको सदियौं पुरानो, विशिष्ट र घनिष्ट सम्बन्धलाई सुदृढ गर्ने लक्ष्य राखेको छ। कार्यक्रमले दुई देश बीचको बलियो सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई जोड दिएको छ।