• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

आज, अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइदै

काठमाडौं । आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस नेपाल लगायत विश्वभरि विभिन्न कार्यक्रम गरी मनाइदैछ । यस वर्षको आप्रवासी दिवस ‘आप्रवासीहरूको योगदान र उनीहरूको अधिकारको सम्मान’ भन्ने नाराका साथ मनाइदैँ छ ।

सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरूका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक वर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी दिवसका रूपमा मनाउन थालिएको हो । यस दिवसका अवसरमा नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरुले आप्रवासी श्रमिकहरूको अधिकार सुनिश्चितता सम्बन्धी विषयमा सरकारको ध्यानाकर्षण गराउने काम गरिन्छ ।आप्रवासीको हकहितका लागि विश्वभरि दिवस मनाइए पनि कामदारहरूले भोग्नु पर्ने समस्या अझै त्यस्तै नै रहेको छ ।

रोजगारदाताबाट पारिश्रमिक नपाउने, सामान्य स्वास्थ्य उपचार सेवा पनि नपाउने, तोकिएको काम र कार्यक्षेत्रभन्दा अन्य अन्यत्रै काम गर्नुपर्ने र बेचबिखनमा पर्ने जस्ता मानवीय समस्याहरू अझै पनि आप्रवासी कामदारहरुले भोग्नु पर्ने अवस्था छ ।यस विषयमा विगत लामो समयदेखि आवाज उठे पनि सम्बोधन भने हुन सकेको छैन् । संयुक्त राष्ट्रसङ्घको ६८ औँ सधारणसभाले विकासका लागि आप्रवासको महत्त्व र सम्पूर्ण आप्रवासीको अधिकार संरक्षणका लागि अन्तर्राष्ट्रिय आप्रवास र विकासमा उच्चस्तरीय संवादको घोषणा पारित पनि गरिसकेको छ ।यसले विकास लक्ष्य पुरा गर्न आप्रवासको योगदानलाई पूर्ण रूपमा स्वीकार गरेको छ भने मानव गतिशीलतालाई दिगो विकासको महत्वपूर्ण हिस्साको रूपमा लिएको छ ।