जनकपुर बोल्ट्स एनपीएलको फाइनलमा

काठमाडौं । कर्णाली याक्समाथि जित निकाल्दै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ ।

कर्णालीले दिएको ११९ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो ।

जनकपुरका लागि जिमी नीशमले १७ बल खेल्दै २ चौका र ५ छक्काको मदतमा सर्वाधिक ४५ रन बनाए ।

शेर मल्लले अविजित १६ रन जोडे । शेरले १० बल खेल्दा १ छक्का प्रहार गरे । हर्श थाकरले १७, मयन यादवले १५ र आकाश त्रिपाठीले १३ रन जोडे ।

त्यसअघि जनकपुर बोल्ट्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १८ रनको योगफल तयार पारेको थियो ।

गुल्सन झाले बनाएको २५ रन नै कर्णालीका लागि सर्वाधिक रह्यो । ओपनर देव खनालले २४ रन बनाए । अर्का ओपनर जयकिसन कोल्सावाला १ रनमा नै आउट भए ।

जिसन मक्सुद १२, चान्डविक वाल्टन ११, कप्तान सोमपाल कामी ५, अर्जुन घर्ती २ रन बनाएर आउट भए ।