‘उमेरले हार्न सकेन, माटोले साथ छोडेन’

मालारानी गाउँपालिका वडा नं. ५, अर्घाखाँचीका ७१ वर्षीय सुरेन्द्र कुमार चौहान । जो आफ्नो जोस र मेहनतका कारण कृषकहरुका प्रेरणाको स्रोत बनेका छन् ।

२०३० ताका गाउँमा शिक्षा एक सपना थियो। ग्रामीण परिवेशमा पढाइका साधन थिएनन्, समाजमा शिक्षाको महत्त्व बुझाउने कोही थिएन। त्यही समाजमा जन्मिएका सुरेन्द्र चौहानले पढ्ने सपनालाई विपनामा परिणत गरे । पन्ध्र वर्षको उमेरमा विद्यालय भर्ना भएका उनी २०३६ सालमा एसएलसी उत्तीर्ण गर्ने गाउँकै पहिलो व्यक्ति बने ।

त्यो समय एसएलसी पास गर्ने व्यक्तीले सहजै जागिर पाउथे । तर सुरेन्द्रको सपना बिल्कुल फरक थियो । उनी आत्मनिर्भर बनी समाजमा उदाहरणीय काम गर्न चाहन्थे । ‘आत्मनिर्भर बन्नुपर्छ, मेरो कर्मले गाउँको मुहार फेर्नुपर्छ भन्ने सोचले कृषी पेसामा लागेँ’ उनी भन्छन् ।

सुरेन्द्र चौहानको संघर्षले सानो जमिनमा सुरु भएको खेतीलाई अब १०० भन्दा बढी प्रजातिका बिरुवाको नर्सरीसम्म पुर्‍याएको छ। उनको नर्सरीमा किवि, ड्रागनफ्रुट, सुन्तला, मुन्तला, ह्लुवाबेद, ओखरजस्ता फलफूल मात्रै होइन टिमुर, रोजमेरी, लेमनग्रास, अलैँचिजस्ता जडीबुटी पनि पाइन्छ। नर्सरीलाई हेर्दा लाग्छ— यो एउटा सानो बगैँचा मात्र होइन, प्रकृतिसँगको गहिरो माया र मेहनतको प्रतिफल हो।

मैले पहिलो बिरुवा लगाउँदा गाउँलेले खिसिट्युरी गरे – सुरेन्द्र सम्झन्छन् तर आज उनीहरू म बाट सिक्न आउँछन्।

७१ वर्षिय सुरेन्द्र अहिलेपनि तन्नेरी जस्तै फुर्तिला छन् । बिहान ५ बजे उठेर बिरुवाको हेरचाह गर्छन्। उनी भन्छन् ‘उमेरले होइन, सोचले मानिसलाई वृद्ध बनाउँछ ।’ उनको यो जोशले युवा पुस्तालाई कृषिमा लाग्न प्रेरणा दिएको छ।

सुरेन्द्र चौहानको यात्रा सजिलो भने थिएन। प्राकृतिक प्रकोप, बजारको अभाव र गाउँलेको साथको कमी यी सबै चुनौतीका बावजुद उनले हार मानेनन्। ‘मैले धेरै पटक सोचेँ, यो काम छोड्छु तर जब म बिरुवाको हरियाली देख्थेँ, मेरो मन बलियो हुन्थ्यो।’

उनका भनाइहरू केबल शब्द मात्र होइनन् संघर्षको संगीत हुन्। ‘गाउँ फर्केर कृषि गर भन्ने कुरा सुन्दा धेरैलाई अप्ठेरो लाग्छ। तर मलाई विश्वास छ कृषि मात्र यस्तो क्षेत्र हो, जहाँ माटोबाट सुन फलाउन सकिन्छ।’ उनी सुनाउँछन् ।

आज सुरेन्द्र चौहानको नर्सरी केवल व्यापारको माध्यम होइन एक प्रेरणाको स्रोत हो। उनले आफ्नो अनुभवबाट सिकाएको पाठ सबैका लागि महत्वपूर्ण छ। ‘म सन्देश दिन चाहन्छु— युवा पुस्ताले माटो छाड्न हुँदैन। यदि मेहनत र लगनशीलता छ भने, हामीले के गर्न सक्दैनौं र !’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१