धुर्कोट गाउँपालिका-१, नयाँगाउँका चन्द्र ताम्राकारको कथा संघर्ष, साहस र आत्मनिर्भरताको अद्वितीय उदाहरण हो। १७ वर्षसम्म विदेशको माटोमा पसिना बगाएर आर्थिक आर्जन गरेका ताम्राकारले अहिले आफ्नै गाउँको २० रोपनी बाझो जमिनलाई अकबरे खुर्सानी खेती र बाख्रापालनको सफल व्यावसायिक नमुनामा बदलेका छन् ।
उनले कृषिमा नयाँ सोच र प्रविधिको प्रयोग गर्दै ६ वटा बासका टनेल निर्माण गरेका छन् भने फलामका टनेलहरू पनि निर्माणाधीन अवस्थामा छन्। टनेल प्रविधिले उत्पादनलाई गुणस्तरीय र थप व्यवस्थित बनाउने विश्वासका साथ उनले आफ्नो योजना अघि बढाएका हुन् ।
चन्द्र ताम्राकारका अनुसार, अकबरे खुर्सानी प्रतिकेजी २५० रुपैयाँको दरले बजारमा बिक्री भइरहेको छ। घरबाटै थोक विक्रेताहरूले खरिद गर्ने भएकाले बजारीकरणमा सहजता छ। यस व्यवसायबाट वार्षिक १५ लाख आम्दानीको लक्ष्य राखेका छन्, जसले गाउँको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याउँदैछ।
ताम्राकारको फार्मले अहिले तीन जनालाई स्थायी रोजगारी दिएको छ भने आवश्यकता अनुसार अन्य स्थानीयलाई अस्थायी रूपमा रोजगारको अवसर प्रदान गरिरहेको छ। यसले स्थानीय युवालाई कृषि व्यवसायतर्फ आकर्षित गर्दै आर्थिक आत्मनिर्भरता कायम गर्न सहयोग पुर्याएको छ।
चन्द्र ताम्राकारको यो यात्रा विदेशी भूमिबाट सिकेको परिश्रम र गाउँ फर्किएर गरेको कर्मको प्रेरणादायक कथा हो। उनले भने, “यहाँको हावापानी र बजारले राम्रो सम्भावना देखाएको छ। यसलाई अझ व्यवस्थित बनाएर व्यवसायलाई विस्तार गर्दैछु।”
ताम्राकारले जुन विश्वास, लगनशीलता र योजनाबद्ध सोचका साथ आफ्नो व्यवसाय अगाडि बढाएका छन्, त्यो अन्य कृषक र युवाहरूका लागि प्रेरणाको स्रोत हो। उनको यो प्रयासले हामीलाई देखाउँछ कि स्वदेशमै परिश्रम, सही योजना र दृढ संकल्पले सफलता सम्भव छ।