
कञ्चनपुर । धामी झाँक्रीको भर पर्दा कञ्चनपुरको बेदकाट नगरपालिका–६ मुसेपानीका ४२ वर्षीया रञ्चुला साउदको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरीका अनुसार लामो समयदेखि बिरामी साउदलाई झारफुक गर्न धर्मानन्द भट्ट र नारायणदत्त भट्ट घरमा आउने गरेका थिए । झारफुककै क्रममा साउदको शुक्रबार राति मृत्यु भएको थियो । मृत्युको घटनाबारे शनिबार बिहान मात्रै प्रहरीलाई जानकारी प्राप्त भएको थियो ।
स्थानीयवासीका अनुसार धामी झाँक्री द्वयले झारफुकका नाममा साउदमाथि सरिया तताएर कुटपिट गरेका थिए । प्रहरी उपरीक्षक चौधरीले झारफुकमा संलग्न भट्टद्वयलाई नियन्त्रणमा लिएको जानकारी दिए । महिलाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा पुर्याइएको पनि बताए । उनले भने ‘घटनाबारे विस्तृत अनुसन्धान भइरहेकाे छ, दोषी जो कोही भए पनि कारबाहीको दायरामा ल्याइनेछ ।’
बेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्दले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन् । बिरामीले थला परेकी साउद तीन दिनदेखि गम्भीर बिरामी थिइन् ।