• २०८३ असार १०
  • 2026 June 24, Wednesday

समाजवादी मोर्चालाई प्रभावकारी रुपमा अगाडि बढाउन सकिएन : नेपाल

काठमाडौं । नेकपा एकृकीत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले समाजवादी मोर्चालाई प्रभावकारी रुपमा अगाडि बढाउन नसकेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित समाजवादी मोर्चा, नेपालको राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार विचार सभालाई सम्बोधन गर्दै उनले मेचीदेखि महाकालीसम्म देशदेखि विदेशसम्म राजनीतिमा तरंग पैदा गर्नसक्ने तीन घटक एक हुँदापनि प्रभावकारी काम नभएको बताएका हुन् ।उनले भने, ‘हामीले यो समाजवादी मोर्चालाई वास्तवमा जसरी अगाडि बढाउनु पर्ने थियो बढाउन सकेनौ । यसलाई गतिशिल गर्नैपर्छ । तीनवटा घटक त हामी नै छदैछौ । यि तीनवटा घटक पुरानै घटक हुन् ।

मेचीदेखि महाकालीसम्म देशदेखि विदेशसम्म राजनीतिमा तरंग पैदा गर्न सक्छौ । त्यो क्षमता र शक्ति छ । यो सँगै आफ्नो पार्टीका गतिविधि पनि बढाइरहेका छौं । किनभने एकतामा नै बल हुन्छ ।’यसको साथै, उनले देशव्यापी रुपमा सन्देश सभाहरु भइरहेको अवस्थामा अहिलेका प्रधानमन्त्रीले दलहरु विभाजित हुने अवस्था सिर्जना गरेको पनि बताए ।उनले भने, ‘देशैभर सातैवटा प्रदेशमा सन्देश सभाहरुको आयोजना गर्यौं ।

समाजवादी मोर्चाको सन्देश सभा भयो र राम्रो नै प्रस्तुती भएको थियो । प्रदेशपछि जिल्लामा पनि यस्ता सभा हुन्छ कि भन्ने आशा गरिरहेको थियो तर त्यो गर्न सकेनौं । किनभने राष्ट्रिय राजनीतिमा केही परिवर्तनहरु भए । आन्तरिक काममा व्यस्त हुने अवस्था भयो । घटक दलहरु विभाजित हुने अवस्था पनि भयो । जनता समाजवादी पार्टी नेपाल विभाजित भयो । यो विभाजन अरुले गरेको होईन अहिलेका प्रधानमन्त्रीले नै गरेका हुन् ।’गफमा अगाडि परिणाममा सधैँ पछाडि पर्ने अवस्था भएको हुनाले जनताले विकल्पको खोजी गरिरहेकाले ०८४ को चुनावको पर्खाइमा रहेको उनले बताए ।