• २०८३ साउन ९
  • 2026 July 25, Saturday

स्वर्गद्वारी गुठी पीडित मोही किसानले गरे काठमाडौंमा बिरोध प्रदर्शन

काठमाडौं । स्वर्गद्वारी गुठी पीडित मोही किसानले बिभिन्न तीन बुँदे माग राख्दै काठमाडौंमा आन्दोलन सुरु गरेका छन् ।

आइतबार देखि काठमाडौंको माइतीघरमा दाङ देउखुरीबाट आएका स्वर्गद्वारी गुठी पीडितहरुले २०४५ सालदेखि जिल्ला केन्द्रित आन्दोलन गर्दा पनि न्यायपूर्ण मागको सुनुवाई नभएको भन्दै काठमाडौंमै आएर आन्दोलनमा उत्रिएका हुन् ।मोही किसानले जोतभोग गर्दै आएको जमिन मोहीको नाममा रैतानी हुने कानुनी व्यवस्था गर्न, विशेष प्रकृतिको निजी भनिएको गुठी जग्गाका निस्काशित मोहीको हक पुनस्र्थापित गर्न र किसानले बुझाउनु पर्ने रैतानी वापतको तिरो वडामार्फत बुझाउने व्यवस्था गरिदिन उनीहरुको माग रहेको छ ।

स्वर्गद्धारी गुठीको मोही दाङ जिल्लामा १२ मौजा (गाउँ) मा ३ हजार ५ परिवारका करिव १६ हजार जनसङ्ख्या बसोबास छ । कुल १ हजार ५० विघा जमिन गुठी अन्तर्गत रहेको छ ।किसानले खेतीपाती गर्दै बसोबाससमेत गर्दै आएको जग्गाको स्वामित्व भने स्वर्गद्धारी गुठीको नाममा रहेको छ भने पीडितहरुसँग भएको मोहीयानी पुर्जा २०६२ चैत १४ गते सर्वोच्च अदालतको संयुक्त इजलासबाट परमादेशसमेत जारी गरी खारेजी गरिएको थियो ।