भारतीय सेना दिवसको अवसरमा काठमाडौंमा विशेष समारोह

काठमाडौं । भारतको ७७ औं सेना दिवसको अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावासले एक विशेष समारोहको आयोजना गरेको छ ।

समारोहमा नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देल प्रमुख अतिथिको रुपमा सहभागी थिए ।

समारोहलाई सम्बोधन गर्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत र नेपालबीचको ऐतिहासिक सम्बन्धको चर्चा गरेको भारतीय दूतावासले मंगलबार एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

उनले भारतीय सेनामा गोर्खा सैनिकहरुले पुर्‍याएको योगदानको उच्च प्रशंसा गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधान सेनापति सिग्देलले भारतीय सेनालाई ७७ औं सेना दिवसको शुभकामना दिँदै दुई देशबीचको बलियो सैन्य सम्बन्धको चर्चा गरेको दूतावासले जनाएको छ । सो अवसरमा उनले नेपाली सेनाको क्षमता विकासमा भारतीय सेनाले गरेको सहयोगको पनि प्रशंसा गरे ।

समारोहमा भारतीय सेनाका वीरता पुरस्कार विजेता गोर्खा सैनिकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा दुई देशका सेनाका उच्च अधिकारीहरु, कुटनैतिक व्यक्तित्वहरु, सरकारी अधिकारीहरु र पत्रकारहरुको उपस्थिति थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१