• २०८३ असार १०
  • 2026 June 24, Wednesday

बजेट अभाव हुँदा काम गर्न नसकेको मन्त्री चौधरीको गुनासो

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद मन्त्रालयमा पर्याप्त बजेट नभएको बताएका छन् ।

शुक्रबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको राष्ट्रिय खेलकुदको विद्यमान अवस्था, भए गरेका कामकारबाही, समस्या र भावी कार्यदिशा सम्बन्धि छलफलमा उनले मन्त्रालयको कुल बजेट एक अर्ब २० वा ३० करोडमा ६० करोड १० औं राष्ट्रिय खेलकुदको लागि छुट्टाएको भन्दै अन्य आयोजनाको लागि बजेट नभएको र नपुग्ने बताए ।

उनले भने, ‘नेपालमा जुनसुकै सरकार आएपनि युवा र खेलकुदको लागि बजेट पर्याप्त हुँदैन् । भएको बजेट पनि एउटा खर्च गर्न सकिरहेको छैन् । राष्ट्रिय गौरवको योजना तीनवटा थियो । मूलपानी, गिरिजाप्रसाद क्रिकेट रंगशाला विराटनगर, बुद्ध अन्तर्राष्ट्रिय रंगशाला भरतपुर रहेको छ । हामीसँग एक अर्ब २०, ३० करोड रुपैयाँ कुल बजेट छ । त्यसमा ६० करोड रुपैयाँ १० औं खेलकुदको बजेट छ । यस्तो भएपछि उपलब्धी के हुन्छ ।’यसको साथै, उनले १० औं राष्ट्रिय खेलकुदको बारेमा छलफल भएपनि काम अगाडि बढ्न नसकेको बताए ।

उनले भने, ‘१० औं राष्ट्रिय खेलकुदको बारेमा छलफल भएको छ । कहाँ कहाँ समस्या छ पहिचान गरिरहेका छौं । बोर्डबाट समस्या हो भने छलफल गरिसकेका छौं । निर्णय पनि गरिसकेका छौं तर काम अघि बढेको छैन् । प्रशासनिक व्यथा यति धेरै अप्ठयारो हुँदोरहेछ, बजेट मात्र भएर काम गर्न नसकिने कुरा अहिले थाहा भइरहेको छ ।’सोही क्रममा राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव टंकलाल घिसिङले मंसिर २१ गते बसेको परिषद्को बैठकले चैत्र २३ देखि ३० गतेसम्म १० औं राष्ट्रिय खेलकुदको लागि मिति तोकेपनि काम नभएको बताए ।

उनले भने, ‘मंसिर २१ गते बसेको परिषद्को बैठकले गरेको निर्णय चैत्र २३ देखि ३० एसइइ पछि ११ र १२ को परीक्षा भन्दा अगाडिको मिति तय गरेका थियौं । मंसिर २१ गते परिषद्को बैठक बसेको आज माघ २५ सम्म आइपुग्दा करिब दुई महिनाभन्दा बढि भइसक्यो केही भएको छैन् ।’यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले १० औं राष्ट्रिय खेलकुद तोकिएको समयभित्रै सम्पन्न गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन पनि दिएका छन् ।