
काठमाडाैं । बलात्कार प्रकरणमा पक्राउ परेका पल शाहविरुद्ध नाबालिग गायिकाले अदालतमा बयान फेरेकी छन् ।
पीडित गायिकाले आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा जाहेरीमा उल्लेख गरिएका विवरण सत्य नभएको बताएकी हुन् । पीडित गायिकाले आफूलाई अरुले उक्साएर जाहेरी दिन बाध्य बनाएको बताएकी स्राेतकाे दाबी छ ।
यद्यपी उनलाई पलकाे परिवारले प्रभावमा पारेर बयान फेर्न लगाइएको आशंका गरिएको छ । बयान फेरेको अवस्थामा अदालतले ६ वर्ष कैद गर्ने कानुनी व्यवस्था छ ।
पीडित गायिकाका बाबुलेसमेत बकपत्र गराउँदा बलात्कार घटना नभएको भन्दै बयान फेरेकाे स्राेतकाे दाबी छ ।
नाबालिग गायिकाले शाहविरुद्ध फागुन ११ गते तनहुँ प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । नाबालिग बलात्कार गरेको आरोपमा पक्राउ पूर्जी जारी भएपछि गत फागुन १५ गते प्रहरीसमक्ष आत्मसमर्पण गर्दै शाह जिल्ला प्रहरी कार्यालय, तनहुँमा उपस्थित भएका थिए ।
पीडित भनिएकी नाबालिग गायिकाले आफूमाथि पटक–पटक जबरजस्ती गरेको भनी गैंडाकोट प्रहरीमा समेत जाहेरी दिएकी थिइन् ।
तनहुँ र नवलपुर दुवै अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान भइरहेका बेला नाबालिगले बयान फेरेकी हुन् । शाहले अदालतको बयानका क्रममा आफूले करणी नगरेको बताउँदै आएका छन् ।