
काठमाडौं । मारवाडी सेवा समिति नेपालले महाशिवरात्रीको अवसरमा पशुपति गौशाला धर्मशालामा तिर्थालुलाई निःशुल्क आवास र भोजनको व्यवस्था गरेको छ ।
समितिका अध्यक्ष प्रमोदकुमार अग्रवालकाअनुसार १२ फागुनदेखि १५ फागुनसम्म तिर्थालुलाई आवास र भोजनको व्यवस्था गरिएको हो ।
अग्रवाल भन्छन्, “महा शिवरात्रीका लागि आउने तिर्थयात्रीका लागि समितिले निःशुल्क आवास, खाना र शौचालयसँगै नुहाउने व्यवस्था पनि गरेको छ ।”
समितिले यस अगाडिका वर्षहरुमा पनि तिर्थालुका लागि भनेर आवास र भोजनको व्यवस्था गर्दै आएको थियो । यस वर्ष समितिले स्वास्थ्य शिविर पनि सञ्चालन गरेको हो ।
अग्रवाल भन्छन्, “यात्रुहरु आउने क्रम चालु भइसकेको छ । यस पटक हामीले रक्तदान शिविर र स्वास्थ्य शिविर पनि सुरु गरेका छौँ । यसका साथै महाशिवरात्रीका दिन गौशालामा हामी पानी पनि वितरण गर्दैछौँ ।”