साहित्यका प्रथम सहिदको सालिक बन्यो, पार्क बनाउन रकम अभाव

काठमाडौ । नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलाल अधिकारीको जन्मस्थल रामेछापको मन्थली नगरपालिका–२ कठजोरमा सालिक स्थापना भएको छ ।कृष्णलालको स्मृतिमा पार्क निर्माण गर्ने योजना अनुसार वडा कार्यालयले नगरपालिका समेतको सहकार्यमा सालिक स्थापना गरेको हो ।

कठजोर चौरमा कृष्णलालको सालिक राखिएको भए पनि बजेट अभावको कारण पार्कको बाँकी काम अघि बढ्न सकेको छैन ।पार्क निर्माणको लागि ग्याभिन उठाउने काम भएको भएपनि त्यसलाई पुर्ने, सम्याउने तथा अन्य सजावटका काम हुन सकेका छैनन् । ‘जम्मा सालिक राखियो, अरू काम गर्न सकिएको छैन, बजेट नहुँदा बाँकी काम रोकिएको छ, स्रोत खोज्ने काम भइरहेको छ’, वडा सदस्य चित्रशंकर अधिकारीले भने ।जिल्ला सदरमुकाम मन्थलीबाट ४५ मिनेटको दुरीमा रहेको अधिकारीको जन्मस्थल कठजोरसम्म पुग्ने सडक पिच हुने क्रम सुरु भएको छ ।

मन्थली नगरपालिकाले सो सडकको नाम सुब्बा कृष्णलाल राजमार्ग राख्ने निर्णय समेत गरेको छ । सडक पिच भएपछि मन्थलीबाट आधा घण्टामा कठजोर पुग्न सकिन्छ । जसले गर्दा कठजोर साहित्यिक पर्यटकीय स्थल बन्न सक्छ ।सुब्बा कृष्णलाल राष्ट्रको गहना भएकाले उनको स्मृतिमा स्थानीय स्तरबाट सुरु गरिएको काममा केन्द्र र प्रदेश सरकारले पनि सघाउनु पर्ने धारणा मन्थली नगरपालिका–२ का वडाध्यक्ष सुरेन्द्र कार्कीको छ । यस विषयमा दुवै तहका सरकारमा पहल भइरहेको उनले बताए ।

कृष्णलाल राष्ट्रका गहना भएकाले स्थानीय सरकाले उनको सम्मानमा सुरु गरेको काममा प्रदेश र केन्द्र सरकारले सघाउनुपर्ने वागमती प्रदेश सभाको उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठको भनाइ छ । यसको लागि प्रदेश र केन्द्र सरकारका निकायमा आफूले पहल गर्ने उनले बताए ।रामेछापको कठजोरमा विसं १९४४ माघ २४ गते जन्मिएका नेपालका प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारीले राणा कालमा कौशील अड्डामा सुब्बाको जागिरे भएकै बेला मकैको खेती नामक पुस्तक लेखे बापत राणाहरूले हतकडी र नेलकडी सहित कारागारमा राखेका थिए । उनको कारागारमा नै निधन भएको थियो ।

लक्ष्मणराज अधिकारी र इन्द्रकुमारी अधिकारीका माहिला छोरा कृष्णलालले १९७७ मा सो पुस्तक लेखेका थिए । ६० पेजका उक्त पुस्तक नक्साल भगवती नजिकै पशुपति छापाखानामा एक हजार प्रति छापिएको थियो ।पुस्तकको भूमिकामा कृष्णलालले उल्लेख गरेको मकै खाने रातो टाउको र कालो टाउको भएको कीरामा राणालाई व्यङ्ग्य गरिएको भन्दै कसैले पोल लगाइदिएपछि अधिकारीलाई जेल हालिएको थियो । त्यतिबेला चन्द्र शमशेरले रातो र भीम शमशेरले कालो फ्रेस क्याप (टोपी) लगाउने गर्दथे ।

रातो टाउके र सेतो टाउके भनेर उनीहरूलाई व्यङ्ग्य गरिएको पोल लगाइएको थियो ।सोही कुरा पत्याएर विसं १९७७ साउन ११ अधिकारीलाई पक्राउ गरी सबै किताब जफत गरिएको थियो । छापिएका मध्ये एक प्रति किताब फेला नपरेपछि किताब लुकाएको भन्दै अधिकारीलाई ९ वर्ष जेल सजाय सुनाइएको थियो । जस मध्ये ५ वर्ष को सजाय हराएको एक प्रति किताबको लागि तोकिएको थियो ।जेलमा नै रहेको बेला अधिकारीलाई क्षय रोग लाग्यो र १९८० मा निधन भयो । जेलमा निधन भएकोले अधिकारीलाई प्रथम साहित्यिक सहिद भनिएको हो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१