
इलाम । इलामको सूर्योदय नगरपालिकाको नेपाली कांग्रेसका वडा सभापतिले स्थानीय तहको निर्वाचनमा कसैसँग गठबन्धन गर्न नसकिने घोषणा गरेका छन् । कांग्रेसको १४ वटै वडाको वडा सभापतिको बैठकले गठबन्धन गर्न नसकिने घोषणा गरेका हुन् ।
गठबन्धन कार्यान्वयन भएमा सूर्योदयको प्रमुख नेपाल कम्युनिस्ट पार्टी नेकपा एसले पाउने सम्भावना थियो । जिल्ला तहमा भइरहेको बैठकमा पनि नेकपा एसले सूर्योदयको प्रमुखमा दाबी गर्दै आएको थियो ।
नेकपा एसका सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्ने सूर्योदयमा नेकपा एसबाट रणबहादुर राईनै उम्मेदवार हुने चर्चा थियो । राई यसअघि नेकपा एमालेबाट नगरपालिकामा निर्वाचित भएका थिए ।
नेकपा एमाले विभाजन हुँदा राई सहित एमालेबाट निर्वाचित बहुसंख्यक जनप्रतिनिधि नेकपा एसमा गएका थिए । त्यसैले सूर्योदयमा नेकपा एसले प्रमुखमा दाबी गर्दै आएको थियो । तर, कांग्रेसका वडा सभापतिले गठबन्धन अस्वीकार गर्ने निर्णय गरेपछि सूर्योदय नगरपालिकामा गठबन्धन धरापमा पर्ने देखिएको छ ।
सूर्योदय नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्षसमेत रहेका वडा सभापति लेखनाथ खड्काको अध्यक्षतामा भएको बैठकले गठबन्धन नेपाली कांग्रेसका सदस्य तथा मतदाताको भावना विपरीत रहेको ठहर गरेको छ ।