बेरोजगार युवालाई रोजगारको लागि पालिकामै ड्राइभिङ तालिम

काठमाडौ । गाउँमा रोजगारी नपाएर यूवा बिहीन गाँउ हुन थालेपछि कनकासुन्दरी गाउँपालिकाले पालिका भित्र रहेका बेरोजगार यूवालाई स्वरोजगार बनाउनका लागि ड्राइभिङ तालिम दिएको छ ।

यूवालाई गाउँमै स्वरोजगार बनाएर आत्मनिर्भर भएर जीविकोपार्जनमा सुधार ल्याउन विपन्न गरीब बेरोजगार यूवालाई ड्राइभिङ तालिम दिइएको हो ।जुम्लामा पछिल्लो समयमा गाउँगाउँमा सडक सन्जाल जोडीएपछि यातायातका साधनहरु बस्ती बस्ती पुग्न थालेपछि ड्राईभरको माग बढी रहेको अवस्थालाई मध्यनजर गर्दै ड्राइभिङ तालिम दिइएको हो ।

सिप सिकेर कार्यान्वयनमा ल्याएपछि आम्दानी वृद्धि गर्न सकिने सम्भावना भएको हुँदा ड्राईभर पेशा सम्भावनालाई अवसरमा बदल्न तथा यूवालाई गाउँमै स्वरोजगार बनाउनका लागि क्याड नेपाल जुम्ला र कनकासुन्दरीगाँउपालिकाको सहकार्यमा बेरोजगार यूवालाई ड्राइभिङ तालिम दिएको हो ।एक जना महिलासंगै आठ जना यूवालाई एक महिने ड्राइभिङ तालिम दिएको छ । तालिम पाएपछि गाउँमै केही गर्ने ईच्छा शक्ति पलाएको वर्षसनराज बुढाले बताए ।

उनले भने, ‘सबै गाउँ छोडेर पलायन हुँदा आफूलाई पनि जाउँ जाउँ लाग्थ्यो । एक महिनाको ड्राईभिङ तालिम पाएपछि अब ऋण जोहो गरेर पनि गाउँमा अटो संचालन गर्ने सोचमा छु । धेरै यूवाले अटो चलाएरै घर परिवार चलाएको देखेको छु ।’ कनकासुन्दरी ३ की सरस्वती बुढाले तालिम कार्यान्वयन गरेको खण्डमा कनकासुन्दरीकी पहिलो महिला चालक बन्ने भएकी छिन् । गाउँमा महिला चालक भएपछि कुरा काट्ने चलन छ । उनले भनिन्,‘महिलाले गाडी चलाउनु हँुदैन् भन्ने गाउँको संकिर्ण सोच तोड्ने प्रयासमा छु । धेरै महिलाले डोजर टिप्पर बस चलाएको पनि देखेको छु । ढिलो चाडो सिपको प्रयोग अघि बढाउने सोच छ ।’

क्याड नेपालका अध्यक्ष कृष्ण बहादुर महतले काम विहिन यूवालाई स्वरोजगार बनाउन ड्राइभिङ तालिमको योजना बनाइएको बताए । एक महिने तालिम सिक्न महंगो खर्च लाग्थ्यो । तर क्याड नेपालले निःशुल्क रुपमा तालिम दिएर स्वरोजगार बनाउने उदेश्यले तालिम दिएको उनको भनाई छ ।आफ्नो सीप क्षमतालाई व्यवहारमा लागू गरेमा आर्थिक आम्दानी र जीविकोपार्जनमा सुधार हुने उल्लेख गरे । यूवाहरु सीप रोजगार नपाएर पलायन भईरहेको अवस्थामा सवारी चलाएर घर परिवार चलाउन सक्ने ईच्छा भएका यूवालाई तालिम दिईएको महतले बताए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१