काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पोखराबाट काठमाडौं आउँदै छन् ।
विभिन्न कार्यक्रममा सहभागी हुन गएका शाह आज आफ्नो निवास फर्किन लागेका हुन् । उनी दिउँसो साढे २ बजे पोखराबाट काठमाडौं उड्ने छन् ।
पोखरामा भव्य विदाई गर्ने राजावादीको तयारी छ भने काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि भव्य स्वागत गर्ने भएका छन् ।
शाहलाई स्वागत गर्न राप्रपा, राप्रपा नेपाल र दुर्गा प्रसाईंको समुहले आफ्नो पक्षबाट तयारी पुरा गरेको बताएका छन् । यता हजारौंले स्वागत गर्ने चाल पाएको जिल्ला प्रशासनले सुरक्षा व्यवस्था कडा पारिने बताएको छ ।