चर्चामा

प्रजातन्त्रको विकल्प कुनै तन्त्र हुन सक्दैन : एनपी साउद

काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले प्रजातन्त्रको विकल्प अरू कुनै तन्त्र हुन नसक्ने बताएका छन् । संघीय राजधानी काठमाडौंमा राजावादीहरूले आइतबार गरेको प्रदर्शनतर्फ लक्षित गर्दै उनले प्रजातन्त्रको विकल्प प्रजातन्त्रमात्रै हुन सक्ने बताएका हुन् ।

‘प्रजातन्त्रको विकल्प प्रजातन्त्रमात्रै हुन सक्छ,’ कैलालीको धनगढीमा जारी कांग्रेस सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनको उद्‌घाटन समारोहमा नेता साउदले भने ।

उनले प्रजातन्त्रले कुनै विकल्पलाई निषेध भने नगरेको स्पष्ट पार्दै प्रजातान्त्रिक प्रक्रियाको माध्यमबाट आउने विकल्पलाई संविधानले जहिले पनि अंगिकार गर्दै आएको स्मरण गरे ।

‘अहिले प्रजातन्त्रले कुनै विकल्पलाई निषेध पनि गरेको छैन,’ पूर्वपरराष्ट्रमन्त्री साउदले भने, ‘प्रजातान्त्रिक प्रक्रियाको माध्यमबाट आउने विकल्पलाई हाम्रो संविधानले जहिले पनि अङ्गिकार गर्दै आएको छ ।’

उनले संसद्मा रहेका कम्युनिस्ट र सडकमा रहेका राजावादीबाट जुनसुकै बेलामा पनि प्रजातन्त्रमाथि प्रहार हुन सक्ने भन्दै कांग्रेस सहज रहनुपर्नेमा जोड दिए ।

संविधान, संवैधानिक प्रक्रिया र नेपाली जनताले सङ्घर्ष गरेर ल्याएको प्रजातन्त्र-गणतन्त्रविरुद्ध कुनै शक्ति जुर्मुराउन खोजे त्यसलाई परास्त गर्न कांग्रेस अगाडि आउने पनि साउदले बताए।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१