• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

चापाकोटको विकास, स्थायी शान्ति र समृद्धिका लागि पुन: मेराे उम्मेदवारी रहन्छ : शिवकुमार गिरी

स्याङ्जा । स्याङ्जाका पुराना नेता शिवकुमार गिरीकाे परिचय कांग्रेसका नेतामा मात्र सीमित छैन । उनी समाजसेवी पनि हुन् । चापाकाेट नगरपालिकाका नगरप्रमुख गिरी नगरभित्र लाेकप्रिय छन् । उनकाे लाेकप्रियताकाे कारण उनकाे सरल स्वभाव हाे ।

विद्यार्थी जीवनबाट राजनीतिक यात्रा सुरु गरेका गिरी यसअघि भएकाे स्थानीय चुनावमा भारी मतले विजयी भए । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका डा.बुद्धिमान श्रेष्ठलाई करिब हजार मतले पराजित गरे । सरल र सहयाेगी स्वभावका गिरीकाे चर्चा चापाकाेटमा हुने गरेकाे छ । स्थानीयहरु उनकाे चर्चा गरिरहन्छन् ।

न्यूनतम विकासका पूर्वाधारसमेत नभएको चापाकोट नगरपालिकामा गिरी नगरप्रमुखमा निर्वाचित भएपछि चापाकाेटले मुहार फेरेकाे स्थानीयहरु बताउँछन् । पाँच वर्ष चापाकोट नगरपालिकाको नगर प्रमुख बनेका तिनै गिरी यो पटक पनि नगर प्रमुखकाे आकांक्षी छन् ।

सीमित साधन र स्रोतकाबीच घर घरमा सडक, घर घरमा खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन विकासमा नगर प्रमुख गिरीले मरिमेटेर काम गरेका छन् । हुरि-बतास, बाढी, पहिरो, भूकम्पजस्ता प्राकृतिक प्रकोपबाट घरबारविहीन बनेकालाई चापाकोट नगरपालिकाले दर्जनौँ भूकम्प प्रतिरोधात्मक घर निर्माण गरेको छ ।

देशभर कैयाैँ स्थानीय तहले करोडौँ बजेट बालुवामा पानी खन्याए जस्तै खन्याए तर चापाकोट नगरपालिकाले त्यसो नगरेकाे स्थानीयवासीकाे भनाइ छ । सीमित स्रोत र साधनलाई सही सदुपयोग गरेकाे र नगरबासीको दु:खमा आँसु पुछ्ने काम गरेकाे स्थानीयकाे बुझाइ छ ।

नगर प्रमुख गिरी भन्छन्, ‘वास्तवमा जनताको प्रतिनिधि भनेको दु:खमा परेका जनताको सेवक हुनु पर्छ भन्ने मेरो मान्यता छ । सोही कारण अझ एकपटक नगर प्रमुखको रुपमा सेवा गर्न काँग्रेस पार्टीले चापाकोट नगर प्रमुखको टिकट दिने र जनताले पुनः निर्वाचित गर्नुहुन्छ भन्ने विश्वास लिएकाे छु ।’

चापाकोटको विकास, स्थायी शान्ति र समृद्धिका लागि आफ्नाे काम अझ बाँकी रहेकाे पनि बताए । उनले भने- कतिपय अधुरा कार्यलाई पूर्णता दिनु छ । ज्याग्दी हाइड्रोपावर बनाउनु छ । विगतमा नेकपाको सरकार भएकाले चापाकोटमा एयरपोर्ट बनाउने सपना अधुरो रह्यो । चापाकोटका जनतालाई ५० प्रतिशत सहुलियतमा बिजुली र चापाकोट टार सिँचाइको गर्ने मेरो अठोट छ । नेपाली काँग्रेस पार्टी र जनताले विश्वास गरे पुनः एकपटक मेयर बनेर आधा अधुरा काम पूरा गर्नेछु ।