काठमाडौ । उत्पादन, वितरण र उपभोगमा खाद्य सुरक्षा तथा स्वच्छता कायम गर्न मधेश प्रदेश तथा सङ्घ सरकारका संयन्त्रको संयुक्त बजार अनुगमन टोलीले जनकपुरधामको अस्पताल रोडका ९ वटा होटलमा अनुगमन गरेको छ ।
होटलका खानेकुरा स्वस्थ तथा स्वच्छ बनाउन होटलको अनुगमन तथा नियमनलाई निरन्तर एवम् तीव्र बनाउन मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले दिएको निर्देशनपछि संयुक्त बजार अनुगमन टोलीले होटल अनुगमनलाई निरन्तरता दिएको हो ।खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधाम, घरेलु तथा साना उद्योग कार्यालय, जनकपुरधाम र जनकपुर उद्योग वाणिज्य संघका अधिकारी एवम् प्रतिनिधि सम्मिलित टोलीले दर्ता नगरी सञ्चालनमा रहेका पाँच होटललाई दर्ता गराउन निर्देशन दिएको छ । दर्ता गरी सञ्चालन गर्न निर्देशन दिइएका होटलमा शिव भोजनालय, किशोरी भोजनालय, कृष मिठाइ पसल, रामईश्वर होटल र बैष्णव भोजनालय छन् ।
अनुगमन टोलीले विभिन्न होटलमा फेला परेका म्याद गुज्रिएका सामग्री नष्ट गरेको छ भने भान्साघरको सरसफाइ व्यवस्थापन गर्न होटल सञ्चालकहरूलाई निर्देशन दिएको छ ।अनुगमन क्रममा ड्यु, स्लाइस, मिरिन्डा र सेवन अप जस्ता म्याद गुज्रिएका पेय पदार्थ नष्ट गरिएको साना उद्योग तथा घरेलु कार्यालय जनकपुरधामका प्रमुख सन्तोष साहले जानकारी दिए । उनले बिग्रेका मिठाई र अखाद्य तेल र डाल्डासमेत नष्ट गरिएको बताए ।बिरामीहरूको निकै चाप रहने अस्पताल रोडमा होटलहरूलाई अखाद्य सामाग्री बिक्री नगर्न र भान्साघरलगायत सबै स्थानमा सरसफाइ गर्न तथा ग्राहकहरूसँग राम्रो व्यवहार गर्न अनुगमन टोलीले होटल सञ्चालकलाई निर्देशन दिएको छ ।