
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए ) मा हाल देखिएको विवाद समाधान गरी संस्थालाई बलियो बनाउन एकताको महाधिवेशन सफल पार्न एनआरएनए हंगेरीको अध्यक्ष नारायण भण्डारीले अपिल गरेका छन् ।
अध्यक्ष भण्डारीले सर्वोच्च अदालतको परमादेश पालना गर्दै आउँदो मे महिनामा काठमाडौँमा हुन गइरहेको एकताको महाधिवेशनमा सबै पक्ष सहभागी हुनुपर्ने बताएका हुन् । उनले लामो समयदेखिको विवादले गर्दा एनआरएनएको साख निकै गिरेको बताउँदै अब एकजुट भएर सहकार्य गर्नुको विकल्प नभएको धारणा व्यक्त गरे।‘गएको केही समय यता एनसीसीहरु चेपुवामा परेका छन् । एनसीसीहरू स्वायत्त निकाय हुन् । यिनलाई चेपुवामा पार्नु ठिक होइन । आपसमा इगोको लडाई गर्नुको सट्टा मिलेर अगाडी बढ्दा नै संस्था र सबै एनआरएनहरूको हित हुन्छ,’ उनले भने ।
उनले हंगेरीमा बस्ने सबै एनआरएनहरूलाई उच्चस्तरीय समितिको वेबसाइट (धधध.लचलबजअि.अय) मा गएर ३१ मार्च २०२५ भित्र सदस्यताको लागि निवेदन दिन आग्रह पनि गरे ।अध्यक्ष भण्डारीले बद्री केसी पक्षलाई सर्वोच्च अदालतको निर्देशन बमोजिम सदस्यता सूचना प्रणाली (एमआइएस) लगायत सङ्घको सचिवालयमा उच्चस्तरीय समितिलाई पहुँच दिन आग्रह पनि गरे । ‘सङ्घको भवन र सचिवालय हामी सबैको साझा हो । कुनै एक पक्षले सचिवालय कब्जा गर्न मिल्दैन,’ उनले भने ।