काठमाडौ । अछामको बान्नीगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा मंगलबार साँझ भएको भीषण आगलागीबाट प्रभावित पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। यो निर्णय बुधबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकमा भएको हो।
प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगलागीबाट प्रभावित परिवार र व्यवसायीलाई मानवीय आधारमा प्रारम्भिक सहयोगका रूपमा ५० लाख रुपैयाँ उपलब्ध गराइने जानकारी दिएका छन्। आगलागीबाट प्रभावित परिवार र व्यवसायीलाई तत्काल राहत उपलब्ध गराउन बान्नीगढी जयगढ गाउँपालिका मार्फत उक्त रकम प्रदान गरिने निर्णय गरिएको मुख्यमन्त्री शाहले बताए। उनका अनुसार, पीडितलाई राहत वितरणका लागि पालिकाले स्पष्ट मापदण्ड तयार गर्नेछ।
साथै, प्रारम्भिक विवरण प्राप्त भएपछि थप सहयोगका लागि सरकार प्रतिबद्ध रहेको भन्दै, आगलागीबाट भएको क्षतिको मूल्याङ्कन र राहत तथा पुनर्निर्माणका लागि आवश्यक समन्वय गर्न मुख्यमन्त्रीले सङ्घीय सरकार, स्थानीय निकाय, विभिन्न संघसंस्था र दातृ निकायसँग समन्वय गर्न अपिल गरेका छन्।घटनाको स्थलगत अध्ययनका लागि सामाजिक विकास मन्त्री र आन्तरिक मामिला मन्त्रीलाई जयगढ पठाउने निर्णय पनि प्रदेश सरकारले गरेको छ।