• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

सर्लाहीमा ट्रकको ठक्करबाट दिदीको मृत्यु, बहिनी घाइते

काठमाडौ। सर्लाहीको हरिपुर्वा नगरपालिका–९, मिर्चैया बजार नजिकैको बाँके–संग्रामपुर सडकखण्डमा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ भने अर्की किशोरी घाइते भएकी छन्।

शुक्रबार बिहान करीब ५ बजे श्रीनगरबाट धनकौलतर्फ गइरहेको ना ५ ख ३८५८ नम्बरको खाली ट्रकले विपरीत दिशाबाट आइरहेको साइकललाई ठक्कर दिएको हो। साइकलमा ईश्वरपुर नगरपालिका–१३, श्रीनगर निवासी रामदुलार महतोकी १७ वर्षीया छोरी अञ्जली कुमारी महतो सवार थिइन्। ठक्करबाट अञ्जली घटनास्थलमै मृत्यु भएको छ।साइकलको पछाडि बसेकी अञ्जलीकी १५ वर्षीया बहिनी पूजा कुमारी महतो सामान्य घाइते भएकी छन्।

उनको उपचार श्रीनगरस्थित स्थानीय मेडिकलमा भइरहेको छ। घटनाको जानकारी पाएपछि प्रहरी चौकी गौरीशंकर सर्लाहीबाट प्रहरी निरीक्षक श्यामसुन्दर साहको नेतृत्वमा ४ जनाको टोली र इलाका प्रहरी कार्यालय केशरगञ्जबाट प्रहरी निरीक्षक उमाकान्त जोशीको नेतृत्वमा १७ जनाको टोली घटनास्थलमा खटिएको थियो। ट्रक चालक ३१ वर्षीय लक्ष्मण विकलाई नियन्त्रणमा लिइएको छ। उनी हरिवन नगरपालिका–१०, ताइवान टोलका हुन् र ट्रकसहित उनलाई इलाका प्रहरी कार्यालय केशरगञ्जमा राखिएको छ।