काठमाडौँ । हुम्लाको चंखेली गाउँपालिका–२ लोती भन्ने स्थानमा स्काभेटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
मृतकहरूमा चंखेली गाउँपालिका–२ का ४५ वर्षीय परबल कामी र ३१ वर्षीय अर्जुन कामी रहेका छन्। दुर्घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डिएसपी शंकर पोखरेलले स्काभेटर मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–१४ का नन्दलाल बडुवालको भएको पुष्टि गरेका छन्।
गएराति भएको उक्त दुर्घटनामा स्काभेटर सडकबाट करिब १०० मिटर तल खसेको थियो। स्काभेटर चालकको अवस्था सामान्य रहेको र अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।घटनास्थल मिमी प्रहरी चौकीदेखि करिब एक घण्टा र मेल्छाम प्रहरी चौकीदेखि करिब ३० मिनेटको दुरीमा रहेको प्रहरीले जनाएको छ।