काठमाडौँ । सगरमाथाको खतरनाक ‘डेथ जोन’बाट एक मलेसियन आरोहीलाई बोकेर ज्यान जोगाएका साहसी नेपाली शेर्पा ङिमा टासी अन्नपूर्ण हिमालमा हराएका छन्। चैत २५ गतेदेखि सम्पर्कविहीन बनेका उनी अझै फेला परेका छैनन्, र अब सकुशल फिर्ता आउने आश पनि मरेको छ।
अन्नपूर्णमा हिमपहिरो, दुई शेर्पा गाइड बेपत्ता
सेभेन समिट ट्रेक्सका अनुसार ङिमा टासी शेर्पा र रिमा रिन्जी शेर्पा अन्नपूर्ण हिमालको क्याम्प टुबाट क्याम्प थ्रीतर्फ अक्सिजन सिलिण्डर बोकेर जाँदै गर्दा हिमपहिरोमा परे। दुर्घटनामा परेका उनीहरूलाई खोज्न हेलिकप्टर र ग्राउन्ड टोली परिचालन गरिए पनि एक सातासम्म कुनै सफलता नभएपछि खोजी कार्य स्थगित गरिएको छ।
‘हामीले सक्दो प्रयास गर्यौं तर अब सम्भावना बाँकी छैन,’ सेभेन समिट ट्रेकका म्यानेजर थानेश्वर गुरागाईंले भने। ‘उनीहरू हिमपहिरोमा परेका ठाउँमा जीवित रहने सम्भावना छैन, र थप खोजी जारी राख्नु अरूको ज्यान जोखिममा पार्ने काम हो।’
सगरमाथामा “चमत्कार” गरेकै थिए ङिमा र गेल्जेले
२०८० सालको जेठमा ङिमा टासी र अर्का शेर्पा गाइड गेल्जेले सगरमाथाको करिब ८ हजार ४०० मिटर उचाइ (बालकोनी क्षेत्र) मा अलपत्र परेका मलेसियन नागरिकलाई बोकेर सकुशल उद्धार गरेका थिए। त्यो क्षणलाई ‘चमत्कार’ भनेर नै व्याख्या गरिएको थियो।
त्यतिबेला राष्ट्र र अन्तर्राष्ट्रिय मिडियाले गेल्जे र ङिमाको साहसको उच्च प्रशंसा गरेका थिए। यी दुईले हिउँ र चट्टानबीच विदेशी आरोहीलाई स्लिपिङ ब्याग र म्याटमा बेरेर, डोरीले बाँधेर घिसार्दै उद्धार गरेका थिए।
अन्नपूर्ण जाने यात्रा, र अन्तिम पहिरो
अन्नपूर्ण हिमालमा पठाइएको टोलीमा ङिमा, रिमा र अन्य पाँच जना शेर्पा गाइडहरू अक्सिजन सिलिण्डर शिखरतर्फ पुर्याउने जिम्मेवारीमा थिए। तर, चैत २५ गते दिउँसो १२ बजे क्याम्प टुमा आएको हिमपहिरोले बाटो ध्वस्त पारेपछि ङिमा र रिमा सम्पर्कविहीन बने। साथीहरू र हेलिकप्टरमार्फत व्यापक खोजी गरियो। तर, ‘कुनै संकेत फेला परेन,’ गुरागाईंले भने।
सेभेन समिटको दुःखद निर्णय: खोजी कार्य बन्द
सेभेन समिट ट्रेक्सले औपचारिक विज्ञप्ति जारी गर्दै खोजी बन्द गर्ने निर्णय लिएको जनाएको छ।‘हामीले दुःखका साथ खोज प्रयास रोकेका छौं र हाम्रो दुई बहादुर शेर्पा गाइडलाई अन्तिम बिदाइ दिएका छौं,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।
सात पटक सगरमाथा चढेका थिए ङिमा
ङिमा टासी सेभेन समिट ट्रेक्समा पूर्णकालीन गाइडको रूपमा कार्यरत थिए। उनले ७ पटक सगरमाथा लगायत ७ हजार र ६ हजार मिटरका थुप्रै हिमाल आरोहण गरेका थिए।
सन् २०२४ नोभेम्बर २७ मा उनले प्यूठानको यासा थाक हिमाल (६,१४१ मिटर) को पहिलो आरोहण समेत गरेका थिए, जुन हालै मात्र आरोहणका लागि खुला गरिएको नयाँ हिमाल हो। सगरमाथामा जीवन दिन सक्ने यो साहसी गाइड अब हिमालकै काखमा हराए। उनीजस्ता गुमाउनु नेपालका लागि केवल मानवीय क्षति होइन, राष्ट्रिय गौरवको एक गहिरो शून्यता हो।