काठमाडौ। जंगली जनावरको शिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक युवकको मृत्यु भएको छ। घटनापछि तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
मृत्यु हुनेमा बुद्धभूमि नगरपालिका–९ गब्दहवा निवासी २८ वर्षीय समुन्द्र गाहा मगर रहेका छन्। ३० चैत दिउँसो बुद्ध यशोधरा सामुदायिक वनमा शिकार खेल्ने क्रममा उनलाई गोली लागेको हो।
प्रहरीका अनुसार शिकार खेल्न गएका गाहा मगरसहितका समूहले भरुवा बन्दुक प्रयोग गरेका थिए। घटनापछि प्रहरीले रामबहादुर थारू (३४), कालु भनिने राम थारू (३६) र प्रमेश थारूलाई नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। प्रमेशले बन्दुक लुकाउन सहयोग गरेको प्रहरीको भनाइ छ।कपिलवस्तुका एसपी निरन्जदत्त भट्टका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।