• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

मकवानपुर गढीमा गाडी दुर्घटनामा २ जनाको मृत्यु, बालिकासहित १४ जना घाइते

काठमाडौ। मकवानपुर गढी गाउँपालिकास्थित कान्तिलोक पथ खण्डमा माइक्रोबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

मकवानपुर गढी गाउँपालिका-२ धरमपानीमा काठमाडौंबाट हेटौंडा आउँदै गरेको बाप्र०१-००६ ख ७०७२ नम्बरको इभीको माइक्रोबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

उनका अनुसार सर्लाहीको बागमती गाउँपालिका-७ बस्ने १३ वर्षीया मानुषी मगर र रौतहटको दुर्गा भवानी गाउँपालिका-५ बस्ने ५० वर्षीय निलमदेवी राउतको मृत्यु भएको छ।मगरको शव घटनास्थल नजिकको खोल्सामा फेला परेको थियो भने राउतको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो। दुर्घटनामा १४ जना घाइते भएका छन्।

चालक सर्लाही बागमती गाउँपालिका-५ का २९ वर्षीय कमलबहादुर दर्लामीसहित घाइते भएका १४ जनालाई हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ।गाडी सडकको मोडबाट करिब २०० मिटर तल खसेको छ।