काठमाडौँ । सरकारले आन्दोलनरत शिक्षकहरूलाई पुनः वार्ताका लागि आह्वान गरेको छ। सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूले सञ्चालन गर्दै आएको ध्यानाकर्षण कार्यक्रमप्रति सरकार गम्भीर रहेको बताउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले महासंघलाई यथाशीघ्र संवादमा आउन अनुरोध गरेको हो।
मन्त्रालयका सचिव डा. दीपक काफ्लेले महासंघलाई औपचारिक रूपमा पत्र पठाउँदै भनेका छन्, “विधेयक शिक्षक प्रतिनिधिहरूसँगको परामर्शमै तयार गरिएको हो। समाधान संवादबाटै खोज्नुपर्छ।”शिक्षा मन्त्री रघुजी पन्तले पनि प्रेस विज्ञप्ति जारी गर्दै सरकार शिक्षकहरूको चासोप्रति संवेदनशील रहेको उल्लेख गरेका छन्।
“विधेयक संसदमा छलफल हुँदैछ, कानुनी प्रक्रिया अनुसार अघि बढ्छ। तर शिक्षकसँग निरन्तर संवाद गरिनेछ,” मन्त्री पन्तको भनाइ छ।यस विषयमा महासंघको औपचारिक प्रतिक्रिया भने आउन बाँकी छ। संसदको चालु अधिवेशन आजबाट सुरु भएको छ, जसबाट शिक्षा विधेयक पारित गर्ने सरकारको तयारी छ।